माहुरी पालेका दीपेन्द्रको दिनचर्या !


मिलन राउत – उर्लाबारी । हरेक वर्ष जस्तै उर्लाबारी ४ का दीपेन्द्र थापालाई पुषको दोस्रो सातापछि मह काढ्ने चटारो हुन्छ । उनी उर्लाबारीका अगुवा मौरीपालक किसान हुन् । पुसको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्म थापाले तोरीबारीमै गएर मह काढ्ने गर्दछन् ।

परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण थापाले दिएका छ। एक दशकदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका कृषक थापाले मह उत्पादन गरेर वार्षिक ८ लाख रुपैयाँसम्म कमाएको बताउँछन् ।

उनको घरमा अहिले करिब डेढ सय मौरीका घार छन् । ती सबैमा माहुरीपालन गरेका छन् । थापाले वार्षिक सरदर १५ क्वीटल मह उत्पादन गर्ने गरेको बताए । तोरी फुलेको स्थानमा उनले ती माहुरीका घारहरू राखेका छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

उनले जाडो महिनामा माहुरीलाई बचाउन सकेमा अरू बेला समस्याहरू नआउने पनि बताए । सेरेना जातको मौरी पालेका थापाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । सुरुवाती चरणमा खासै अनुभव नहुँदा घाटा बेहोरेका थापाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए ।

उनले वर्षमा दुई पटक मह निकाल्छन् । उनको मुख्य आम्दानी यही नै हो। थापा भन्छन्, ‘मह घरबाटै बिक्री हुन्छ। गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन।’

उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन् । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने उनी बताउँछन् । भन्छन्, ‘खास गरी पूर्वी उत्तरी मोरङका लेटाङ, उर्लाबारी, पथरीशनिश्चरे, मिक्लाजुङलगायतका क्षेत्रबाट ग्राहकहरू घरमै आएर लैजान्छन् ।’

माहुरीको व्यावसायिक पालन गर्न माहुरी चराउन लानुपर्ने अवस्थामा भने उपयुक्त स्थानको अभाव रहने गरेको थापाको भनाइ छ । मङ्सिरदेखि वैशाख महिना माहुरी चरणको समय हो यसका लागि उपयुक्त वनस्पतिको अभाव रहन्छ । जसले गर्दा माहुरी चरणको समस्या धेरै हुने गरेको छ उनले बताए ।

स्थानीय उत्पादनको महप्रति उपभोक्ताको विश्वास कम गर्ने भएकाले बहुराष्ट्रिय कम्पनीले बजारमा ल्याएका महसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको थापाले जनाए । स्थानीय स्तरमा उत्पादित महको गुणस्तर कम हुने जनस्तरको सोच रहँदा ठुला कम्पनीले उत्पादनमा ल्याएका महसँग स्थानीय कृषकले उत्पादन गरेर महले प्रतिस्पर्धा गर्न चुनौती भएको उनले बताए । कृषकहरूले उत्पादन गरेको महको बजार बिस्तारका लागि बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा थापाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्