सहायक सिडिओको शाहको सफलताको कथा


बेलबारी, मोरङ । मानिसको दिनचर्या वा दैनिकी फरक फरक हुनसक्छ । मानिस सबै पेसा व्यवसायमा उत्तिकै रमाउँछन् भन्ने पनि छैन । केही मानिसले पेसा व्यवसायबाट राम्रो आम्दानी लिन सक्छन् भने कतिलाई त आफूले गरेको लगानी उठानसमेत धौधौ पर्ने गर्छ । त्यसो त आफूले गरेको सबै व्यवसायबाट राम्रो सफलता नै प्राप्त होला भन्ने पनि छैन । त्यो मानिस मात्र सफल हुन्छ जोसँग पेसा सम्बन्धी यथेष्ट ज्ञान हुन्छ, योजना हुन्छ र योजनाका साथ अगाडि बढ्छ । सफलताको सपना मनभरि सजाएर लगानी गर्छ र हरतरह लागिरहन्छ र एक दिन सफल भएरै छाड्छ । त्यस्तै मध्येका एक हुन –प्रदीप शाह ।

बेलबारी नगरपालिका वडा नं १ घर भएका शाह झुम्का कारागारको प्रमुख हुँदै पछिल्लो समय मोरङको सहायक सिडिओको पदमा कार्यरत छन् । उनी जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारीसमेत हुन् ।

११ महिना अघि मात्र छिमेकै रहेका व्यक्तिसँग मिलेर उनले ओसिस ‘स्मार्ट एग्रो फाम’ सञ्चालन ल्याए । बेलबारी १ कै गुन्जे थापाका नामले चिनिने डिल्लीबहादुर थापाको नाममा केराबारी ९ घङगरुमा रहेको बाझो जमिन लिजमा लिएर फाम सञ्चालन गरे । फाम सञ्चालन भएको १ वर्ष पनि नबित्दै राम्रो आम्दानी हुन थालेपछि उनी निकै हौसिएका छन् ।

फाम घुम्न गएका मानिसलाई आफूहरूले लगाएको फलफूल तथा सब्जी खेतीलाई देखाउँदै शाह भन्छन् ‘समय दिन भ्याइएको छैन । समय दिन सक्ने हो भने अझ राम्रो उत्पादन लिन सकिन्छ ।’

तीन बिगाहा क्षेत्रफलमा फैलिएको उक्त जमिनमा ड्राइगन फलका अतिरिक्त फलफूल तथा सब्जीसमेत लगाइएको छ । फाममा बाख्रा, बङ्गुर तथा लोकल कुखुरासमेत पालिएको छ । साथै उनीहरू फाममा गाई पालन गर्ने तयारीमा रहेका छन् । जसका लागि घाँस खेतीसमेत गरिएको छ ।

कृषि कर्मले उत्पादन त दिएको छ नै त्यो भन्दा पनि बढी त किसानमा गर्दा हुने रहेछ भन्ने विश्वाससमेत जागृत गरिदिएको छ । उनीहरूले पाँच कट्ठामा लगाएको ड्राइगन खेतीले भने छोटो समयमै मनग्गे आम्दानी दिन थालेको छ । गत वर्ष मात्र झापाबाट ड्राइगन फलको बिरुवा ल्याएर रोपेका थिए । सामान्यतया सय रुपैयाँमा बेर्ना पाए पनि उन्नत जातको बिरुवालाई उनले तीन सय लगाएर ल्याए । नभन्दै रोपेको छोटो समयमै आम्दानी दिन थालेको छ ।

कृषि फाम श्रीमती सीता शाह र अर्का लगानीकर्ताकी श्रीमती मैना गुरुङ थापाको नाममा सञ्चालित छ । शनिवार बिदाको दिनबाहेक उनी कार्यालयको काममै व्यस्त रहन्छन् । उनी प्रशासनिक काममा व्यस्त रहँदा सीता र मैनाले नै फामको रेखदेख गर्ने गर्छन् । फामको रेखदेख तथा काम गर्न भनेर दुई परिवार राखिएका छन् ।

कामदारबाहेक आफूहरू पनि घरको काम सकेर फाममा आउने गरेको बताउँदै समय काट्न मात्र नभएर आम्दानीको राम्रो श्रोत भएको सीता शाह बताउँछिन् । आफ्नो परिवार पनि कृषि व्यवसाय गरेरै आएकाले खेतीको काम गर्दा मनमा आनन्द आउने गरेको उनको भनाइ रहेको छ ।

उनीहरूले सञ्चालन गरेको यो फाम धेरैको आकर्षणको केन्द्रबिन्दु बन्न सफल भएको छ । उनको फाम हेर्न टाढाबाट मानिसहरू आउने गर्छन् । छोटो समयमा भएको प्रगति देखेर सबैले प्रशंसा गर्ने गरेको, जसले गर्दा अझ प्रेरणा मिल्ने गरेको सञ्चालकमध्येकी मैना गुरुङ बताउँछिन् । यसलाई अझ व्यवस्थित गर्न सकेमा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको बुझाइ रहेको छ ।

बेलबारीलगायत थुप्रै पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका शाहले कृषिको राम्रो भविष्य देखेका छन् । प्रशासनको मानिस किन कृषिमै लगानी गर्नु भयो भन्ने सवालमा कृषिले मनलाई शान्ति मात्र नदिएर आम्दानीसमेत राम्रो दिने देखेर नै आफूले यस क्षेत्रमा लगानी गरेको उनी बताउँछन् । साथै पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दाको अनुभवले पनि कृषिमा लाग्न प्रेरणा मिलेको उनको भनाइ रहेको छ ।

उनी कृषिबाट राम्रो आम्दानी लिन सकिने हुँदा राज्यले किसानलाई प्रोत्साहित गर्नु पर्ने उनको भनाइ रहेको छ । अपेक्षाकृत रूपमा कृषिमा लगानी हुन नसक्दा युवा शक्ति विदेश पलायन भइरहेकोमा भने उनी दुःखी छन् । उनी भन्छन् ‘कृषिमा लगानी गरेर युवालाई देशमै रोक्न सक्नु पर्छ ।’

फाम नै हेर्न भनेर किसान मात्र नभएर उद्योगी तथा व्यापारीसमेत त्यहाँ पुग्ने गरेका छन् । अरुदिन भन्दा पनि बिदाको दिनमा त त्यहाँ भिड नै लाग्ने गर्छ । फाममा फोटा खिच्ने र टिकटक बनाउने पनि प्रशस्त भेटिन्छन् ।

सार्वजनिक बिदाको दिन त्यहाँ सञ्चारकर्मीको टिम पुग्दा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलसहित बेलबारी नगरपालिकाका पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, व्यापारी तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिसमेत उपस्थित थिए । उनीहरू शाह दम्पती र फाम सञ्चालक टिमको खुलेरै प्रशंसा गरिरहेको थिए । भन्दै थिए ‘गर्दा नहुने के रहेछ र ’ ।

विराटनगरबाट फाम हेर्नै भनेर आएका मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव बाझो जमिनलाई यसरी कृषिमा परिणत गर्नु आफैमा उदाहरणीय कार्य भएको भनेर आफ्ना सहकर्मीलाई ढाडस दिँदै थिए । उता अर्का सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल पनि समकालीनको प्रगति देखेर मक्ख देखिन्थे ।

प्रदीप अध्ययनशील तथा योजनाकारका रूपमा चिनिन्छन् । उनी त्यत्तिकै मेहनती पनि छन् । झन् प्रशासनको माथिल्लो ओहदामा पुगेका व्यक्तिहरूको प्राय दैनिकी आफ्नै हुन्छ । कोही फुर्सदको समय खानपिन तथा मोज मस्तीमै बिताउने गर्छन् त केहीले भने त्यस्तो समयलाई भेटघाट र अन्य फजुल काममै बिताउने गर्छन् ।

फुर्सदको समयलाई गलत काममा प्रयोग गरेर गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्न मरिहत्ते गर्नेको सङ्ख्या पनि कम छैन । तर शाहले भने फुर्सदको समयलाई उत्पादनशीलतामा खर्च गर्दै समाजमा उदाहरणीय काम गर्दै धेरैका प्रेरणाका श्रोत बन्न पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्