एनपिएलमा लुम्बिनी लायोन्सको लगातार दोस्रो हार : काठमान्डु गोर्खाज २२ रनले विजयी


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार व्यहोर्नुपरेको छ । त्रिवि क्रिकेट रङ्गशालामा भएको खेलमा काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १३५ रनमै सीमित बनेपछि २२ रनले पराजित भयो ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात समेत सन्तोषजनक रहेन । टोलीका लागि सबैभन्दा धेरै रन दिलीप नाथले बनाए, जसले ३३ बलमा २५ रन जोड्दै १ चौका र १ छक्का प्रहार गरेका थिए । विदेशी खेलाडी डी आर्सी सर्टले ११ बलमा ३ चौका र १ छक्कासहित २२ रनको योगदान दिए। यस्तै, सैर मल्लले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३ छक्कासहित २७ रन बनाएर रनआउट भए ।

कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११–११ रन जोडे भने ओपनर सन्दीप जोराले ७ रन मात्र बनाएका थिए । निर्धारित ओभरमा लक्ष्य नजिक पुग्न नसकेपछि लुम्बिनीले तीन खेलमै दोस्रो हार बेहोर्नुपरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । टोलीका कप्तान करण केसीले ३३ रन बनाएर टिमको इनिङ्स सम्हाले । ओपनर आकाश त्रिपाटीले ३२ रन जोडे ।

सन्तोष यादवले १३ बलमा २ छक्का प्रहार गर्दै २३ रन बनाए भने गेर्हाट इरानेशले १५ बलमा २ चौका हान्दै १७ रनको योगदान गरे । मिलेन्द्र कुमारले १७ तथा रासिद खानले १४ रन जोड्दै काठमान्डुलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए । यो जितसँगै काठमान्डुले चार खेलमा दोस्रो जित दर्ता गरेको छ । लुम्बिनी लायोन्स भने तीन खेलपछि दोस्रो पटक पराजित हुँदै तालिकामा कमजोर स्थितिमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्