फोटो फिचर : शिशिर राई – कानेपोखरी । कानेपोखरी गाउँपालिकाले विभिन्न ४६० थान कृषि सामाग्री हस्तान्तरण गरेको छ । मङ्गलवार ५० प्रतिशत अनुदानमा ७ प्रकारको कृषि उपकारण कृषकहरूलाई वितरण गरेको हो ।
गाउँपालिकाले १२५ थान न्यापस्याक स्प्रे २ इन १, मकै छोडाउने मेशिन १०५ थान, ५० थान मकै रोप्ने मेसिन, १० थान १ एच.पीको पानी तान्ने मोटर, २ एच.पीको १२५ थान, कम्वाइन मिलिङ मेशिन १५ थान र सवमर्सिबल पम्प ३० थान वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वितरण गरेको कृषि उपकरण अधिकतम सदुपयोग गरेर लाभ लिन कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले आग्रह गरेकी छिन । विगतमा धेरै सामाग्री निवेदन र कृषकद्वारा सामाग्री खरिद विलको आधारमा विश्वास गरेर वितरण गरेको तर पूर्ण सदुपयोग नभएको साथै गाउँपालिकाले सहयोग गरेको अपनत्व कृषकहरूलाई नभएकोले प्रत्यक्ष कृषकहरूलाई उपकरण वितरणको कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन ।
सबैलाई एक सम्मान उपलब्ध गराउन सामाग्री वितरण कार्यमा नसोहोरीकन कृषकहरूले प्राप्त गर्ने विषयमा गम्भीर हुन कृषि शाखालाई निर्देशन दिएकी छिन । कृषकहरूले प्राप्त उपकरणको उपयोग गर्ने अवसर छिमेकीलाई पनि प्रदान गर्न आग्रह गरेकी छिन । उपकरण प्राप्त गर्नेले मात्र नभएर सामूहिक एकताको उदाहरण प्रदान गर्ने गरी साझा रूपमा लाभ लिन आग्रह गरिन । भावी दिनमा कृषकहरूको माग अनुसार उपकरण प्रदान गर्ने इङ्गनामले प्रतिबद्धता गरेकी छिन ।
गाउँपालिकाले कृषि यान्त्रीकरण तथा साना सिँचाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सोही कार्यक्रम अन्तरगत कृषकहरूको मागलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरी कृषि सामाग्री वितरण गरेको कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताएका छन् । खरिद ऐन अन्तरगत पारदर्शी रूपमा आर्थिक व्यवस्थापनसँगै गुणस्तर सामाग्री वितरण गर्ने उद्देश्यको कारण वितरण कार्यमा केही ढिलाइ भएको अधिकारीले जनाए । सक्दा १०० प्रतिशत अनुदानमा वितरण गर्ने भावना भएता पनि आर्थिक अभावको कारणले साझेदारीमा सामाग्री वितरण गर्नु परेको अधिकारी बताउँछन् ।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, कानेपोखरी वडा नं.२ का अध्यक्ष सुशील बुढाथोकी, वडा नं.५ का अध्यक्ष चरण गुरुङले प्राप्त उपकरणको अधिकतम सदुपयोगको लागि कृषकहरूलाई आग्रह गरेका छन् ।
कृषि सामाग्री प्राप्त गरेसँगै कृषकहरू खुसी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद प्रदान गरेका छन् ।