सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित सडक छेउमा छाडिएको अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको कारबाट प्रहरीले २० किलो गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) तथा प्रहरी चौकी घुस्कीबाट खटिएको संयुक्त टोलीले मंसिर ९ गते नियमित चेकजाँचका क्रममा WB 02AL 0175 नम्बरको कार शंका लागेपछि विस्तृत रूपमा अनुगमन गरेको थियो ।
बेवारिसे अवस्थामा फेला परेको कारको डिकी खोल्दा कालो प्लास्टिकका पोका गरेर लुकाइ–छिपाई राखिएको ठुलो परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ । बरामद गाँजाको तौल २० किलोग्राम रहेको पुष्टि गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कार उक्त स्थानमा जानबुझेर छाडिएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसारमा संलग्न समूहको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ । कार कसका नाममा दर्ता छ, कसले त्यहाँ ल्याएर छाडेको हो, र गाँजा सीमा नजिकैबाट कसरी भित्रियो भन्नेबारे पनि प्रहरीले गम्भीर छानबिन थालेको छ ।
प्रहरीले घटनालाई अन्तर्राष्ट्रिय लागूऔषध कारोबारसँग जोडिएको शंकासमेत व्यक्त गर्दै दोषीहरूलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ ।


