बेलबारी नगरपालिकाको ७५% लागतमा किसानलाई मोटर बोर्रिङ सेट वितरण


बेलबारी । बेलबारी नगरपालिकाले किसानसँगको साझेदारीमा मोटर बोर्रिङ सेट वितरण गरेको छ । नगरपालिकाले सोमबार साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगत कृषकहरूलाई ५५ वटा मोटर बोर्रिङ सेट वितरण गरेको हो ।

नगरपालिकाको अनुसार २५ प्रतिशत कृषकको लागतसहित रु.३१ हजार १ सय प्रति मोटर बोर्रिङ सेटको मूल्य रहेको छ । साढे चार बिघाको दरमा मोटर बोर्रिङ सेट वितरण गरेको बेलबारी नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखाको अनुसार ७५ प्रतिशत नगरपालिकाको लागतमा कृषकहरूलाई २४७.५ बिघा जमिनको लागि १७ लाख १० हजार ५ सय रुपैयाँ बराबरको ५५ मोटर बोर्रिङ सेट वितरण भएको छ ।

मोटर बोर्रिङ वितरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने प्रयत्न गर्न बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले कृषकहरूलाई आग्रह गरेका छन् । उनले भने, ‘अहिले धानको भाउ एकासी बढ्नुको कारण भारतले धान नेपाल पठाउन बन्द गर्दियो । नेपाल खाद्यान्न सङ्कटमा छ । खाद्यान्न सङ्कट हटाउन जग्गा कहीँ बाझो नराखी उत्पादन गर्नु आग्रह गर्छु, आत्मनिर्भर बनौँ ।’ मोटर बोर्रिङको अधिकतम सदुपयोग गरेर एक बाली मात्र लगाउँदै गरेको जमिनमा दुई बाली धान उत्पादन गर्न नगर प्रमुख राईले आग्रह गरेका छन् ।

साना सिचाई प्रवर्द्धन कार्यक्रम अन्तरगतको मोटर बोर्रिङ वितरणसँगै यस आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा तरकारीको बिउँ, धानको बिउँ, मकैको बिउँ वितरण गरिएको साथै आकस्मिक बाली संरक्षण अन्तरगत निःशुल्क विषादी, कृषि यान्त्रीकरण अन्तरगत मकै रोप्ने मेसिन, विद्युतीय विषादी छर्ने उपकरण पनि वितरण गरेको बेलबारी नगरपालिकाका कृषि शाखाका प्रमुख सन्तोष कँडेलले बताएका छन् । कृषि क्षेत्रको विकासको लागि माटो जाँच शिविर, बाली बिमा सम्बन्धी जनचेतना प्रदान कार्यक्रम, किसान सूचीकरण कार्य लगायतको कार्यक्रम गर्दै आएको कँडेलले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्