कानेपोखरी कोल्ड स्टोर सञ्चालनमा


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ४ मा शित गृह कोल्ड स्टोर सञ्चालनमा आएको छ । कानेपोखरी गाउँपालिकाको १२ लाख ७५ हजार र साना किसान कृषि सहकारी संस्थाको १७ लाख ५ हजार ७ सय ९३ गरी जम्मा २९ लाख ८० हजार ७ सय ९३ लागतमा सञ्चालनमा आएको हो ।

सोमबार सो कोल्ड स्टोरको उद्घाटन पालिका अध्यक्ष राजमती इङ्नामद्वारा भएको छ । कानेपोखरीमा कोल्ड स्टोरको अभावमा कृषकले धेरै नोक्सानी बेहोर्नुपर्ने, टाढा लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै संयुक्त लगानीमा निर्माण गरेको पालिका अध्यक्ष रजामती इङ्नामले बताइन ।

शित गृह कानेपोखरीको एक मात्र कोल्ड स्टोर हो । यस कोल्ड स्टोरले पालिकाका सबै कृषकलाई कृषि क्षेत्रको विकासमा बलियो टेवा पुग्ने अध्यक्ष इङ्नामले आशा व्यक्त गरिन । साना किसान कृषि सहकारी संस्थाको कार्यको प्रशंसा गर्दै पालिकाको साधै आवश्यक सहयोग रहने अध्यक्ष इङ्नामले बताइन ।

संस्थाकी अध्यक्ष यशोदा लिम्बूले सञ्चालनको सुरुवाती चरण भएकाले निर्माण कार्य सम्पन्न गर्न केही ढिलो भएको बताइन । सञ्चालन चुनौती पनि रहेको उनले बताइन । तसर्थ समन्वयकारी भूमिका निर्वाह गर्न पालिकालाई आग्रह पनि गरेकी छिन ।

सो कार्यक्रममा पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी, ६ नम्बर वडा अध्यक्ष खड्ग बहादुर बस्नेत, कार्यपालिका सदस्य पदमा कार्की गुरुङ लगायत सहकारीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कोल्ड स्टोर सञ्चालनले केराबारीका कृषकले उत्पादन गरेका तरकारी फलफूल, अनुकूल समयमा बिक्री वितरण गर्न सक्ने छन् । साथै समयमै बिक्री नभए, कुहिदा बेहोर्नुपर्ने आर्थिक नोक्सानीबाट पनि कृषकलाई ठुलो राहत हुने छ ।

प्रतिक्रिया दिनुहोस्