गुटको घेराबाहिर नितु कोइराला : महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी


बेलबारी । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ३ मा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले खुला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार भएको मनोनयन दर्ताका क्रममा उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन् ।

विशेषतः पार्टीको महाधिवेशनमा प्रतिनिधिहरूको समर्थन जुटाउने क्रममा गुट, समूह, व्यक्तिगत राजनीतिक सम्बन्ध र संगठनभित्रको विगतको योगदानले प्रभाव पार्ने भएकाले उनको उम्मेदवारीलाई पनि त्यही राजनीतिक परिवेशभित्र हेरिएको छ । कोइरालाले आफू कुनै गुट वा समूहको उम्मेदवार नभई सबै क्षेत्रीय प्रतिनिधिको साझा उम्मेदवार भएको बताइन् ।

‘कुनै गुट वा टिमको उम्मेदवार भन्दा सबै प्रतिनिधिको उम्मेदवार हुँ भन्नचहान्छुु,’ कोइरालाले भनिन । कोइरालाले आफूले स्वच्छ र प्रतिस्पर्धात्मक राजनीतिक प्रक्रियामा विश्वास गर्ने बताउँदै प्रतिनिधिहरूले उम्मेदवारको काम, योगदान र राजनीतिक भूमिकालाई मूल्याङ्कन गरेर निर्णय गर्ने अपेक्षा व्यक्त गरिन् । उनले महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई पार्टीभित्र थप प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको र विश्वास रहेको पनि बताइन ।

कोइरालाको उम्मेदवारीको अर्को महत्त्वपूर्ण पक्ष भनेको उनी स्वयं नेपाली काँग्रेसको स्थानीय संगठनमा जिम्मेवारी सम्हालिसकेकी नेतृ हुनु । उनी १४औँ महाधिवेशनबाट बेलबारी नगर कार्यसमितिको उपसभापतिमा निर्वाचित भएकी थिइन् । त्यसपछि स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट बेलबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुँदै उनी जनप्रतिनिधिको भूमिकामा सक्रिय रहँदै आएकी छन् ।

१५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया परिमार्जित कार्यतालिकाअनुसार अघि बढिरहेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ-नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यक्रम छ । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यथावत् राखिएको छ ।

यसअघि सार्वजनिक गरिएको कार्यतालिकामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गतेका लागि तोकिएको थियो । वर्षायाम तथा विभिन्न स्थानीय परिस्थितिका कारण अधिवेशन प्रक्रियामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै काँग्रेसले कार्यतालिका परिमार्जन गरेको जनाएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका केन्द्रीय नेतृत्व चयनसँग प्रत्यक्ष जोडिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट चयन हुने प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा सहभागी भएर पार्टीको केन्द्रीय कार्यसमिति चयन प्रक्रियामा मतदान गर्ने भएकाले क्षेत्रीय तहमा प्रतिनिधिको समर्थन जुटाउने प्रतिस्पर्धा महत्त्वपूर्ण छ ।

नयाँ विधानअनुसार देशभरबाट ५ हजार ८ सय ४८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था र मनोनीत प्रतिनिधिसमेत जोड्दा १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

कोइरालालाई आगामी नगर नेतृत्वको सम्भावित दाबेदारका रूपमा हेर्ने चर्चा भइरहेका बेला उनको पछिल्लो उम्मेदवारी आफैँमा चुनौतीपूर्ण राजनीतिक कदम बनेको छ । कुनै गुट वा प्यानलको सहाराबिना आफूलाई ‘सबै प्रतिनिधिको साझा उम्मेदवार’का रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिनु उनका लागि संगठनभित्र आफ्नो व्यक्तिगत राजनीतिक आधार र प्रतिनिधिहरूमाझको स्वीकार्यता परीक्षण गर्ने चुनौती हो ।

गुटगत समीकरणभन्दा बाहिर रहेर प्रतिनिधिको विश्वास हासिल गर्दै त्यसलाई मतमा रूपान्तरण गर्नु कोइरालाका लागि तत्कालीन चुनौती बनेको छ । यही प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामले उनको वर्तमान राजनीतिक प्रभावसँगै आगामी राजनीतिक यात्राको दिशाबारे पनि एउटा संकेत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्