शिक्षामा व्यापक भ्रष्ट्राचार भएको स्थानीयको आरोप : छानबिन गरी दोषीलाई कारबाही गर्न माग 


बेलबारी, १३ श्रावण । स्थानीयले बेलबारी नगरपालिका शिक्षा शाखामा व्यापक भ्रष्ट्राचार भएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको घेरामा ल्याउन नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । बिहीबार नगरपालिकामा नगरप्रमुख दिल प्रसाद राईलाई उनकै क्याबिनमा भेटेरै स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।

नगरपालिकाको शिक्षा शाखा अन्तरगत विभिन्न शीर्षकमा अनियमितता भएको भन्दै यसको सत्यतथ्य छानबिन गरी दोषी देखिएमा कारबाही गर्न माग उनीहरूले विज्ञप्तिमार्फत माग गरेका हुन् । यसरी नगरप्रमुखलाई ध्यानाकर्षण गराउने हरूमा स्थानीय कुमार खुलाल, प्रताप थापा, विपिन आचार्य, दीपेन्द्र खुलाल, ओमनाथ गौतम, रविन गेलाल र रमेश क्षेत्री रहेका छन् ।

गुरुकुल पाठशालाका प्रिन्सिपल एवम् नेपाल राष्ट्रिय प्याब्सनका नगर अध्यक्ष कुमार खुलाल विभिन्नले नगर शिक्षा शाखाले स्थानीय पाठ्यक्रम तयार पार्दा भरतपुर उपमहानगरपालिकाको पाठ्यक्रमलाई हुबहु नक्कल गरेर ८ लाख बजेको दुरुपयोग गरेको आरोप लगाए । उनले पाठ्यक्रमजस्तो संवेदनशील विषय तयार पार्दा सरोकारवाला व्यक्ति वा निकायसँग छलफल गर्नु पर्नेमा त्यस्तो नगरी सीमित मानिस बसेर पैसा पचाउने काम गरेको आरोप लगाएका छन् ।

त्यस्तै शिक्षा शाखाले ५ लाख ५० हजार खर्च गरेर तयार पारेको प्रयोगात्मक कार्य सञ्चालन निर्देशिका २०७६ पनि पाठ्यक्रम विकास केन्द्र २०७० को आधारभूत तह परीक्षा विशिष्टीकरण तालिका, पाठ्यक्रम विकास केन्द्र २०७१, माध्यमिक शिक्षा पाठ्यक्रम कक्षा ९ र १० भाग १, पाठ्यक्रम विकास केन्द्र २०७४ र माध्यमिक शिक्षा परीक्षा विशिष्टीकरण तालिकाको विभिन्न पेजबाट हुबहु नक्कल गरिएको आरोप लगाएका छन् । सामुदायिक विद्यालयको अवस्था कमजोर रहेको, अधिकांक्ष विद्यालयका छाना चुहिएको, झ्याल ढोका नभएको तर शिक्षा शाखाले भने गोष्ठी र सेमिनारका नाममा रकम खर्च गरिरहेको उनी बताउँछन् ।

स्थानीय प्रताप थापा नगरपालिका भित्र भएका भ्रष्ट्राचार विषयलाई स्थानीय नागरिकको हैसियतले आफूहरूले उठाएको बताउँछन् । उनी नगरभित्र भएका र हुनसक्ने नीतिगत भ्रष्ट्राचारलाई रोक्न नसकिए नगरलाई खोक्रो बनाउने बिचार व्यक्त गर्छन् । शिक्षामा मात्र नभएर नगरपालिकामा अन्य क्षेत्रमा पनि व्यापक भ्रष्टाचार भएको हुन सक्ने उनको आशङ्का रहेको छ । नगरमा नदेखिने यस्ता थुप्रै विषय रहेका ती विषयलाई उठान गर्नु पर्ने स्थानीय कवीन्द्र प्रसाईँको मत रहेको छ । उता शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइराला भने बाहिर आएजस्तो कुरा नभएको बताउँछन् ।

स्थानीय पाठ्यक्रममा अरू पालिकाले तयार पारेको कुरालाई हुबहु सारिएछ नि भन्ने प्रश्नमा शिक्षा शाखा प्रमुख कोइरालाले शिक्षा निर्देशिकाको अधीनमा रहेर पाठ्यक्रम तयार पार्दा निर्देशिकाले अपेक्षा गरेका कुरा जुन पालिकाले बनाए पनि एकै हुने भएकोले त्यस्तो देखिएको बताउँछन् । उनी योजना किताबमा राखिएका धेरै योजनामा रकम खर्च नभएको ती शीर्षकलाई रकमान्तर गरिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्