तिला लेकाली, ७ श्रावण। बि.स. १९८१ असार १५ मा आमा तुलसी कुमारी श्रेष्ठको कोखबाट एक अबोध शिशुको रूपमा रामेछाप जिल्लामा पुष्पलाल श्रेष्ठको जन्म भएको हो । बुबा भक्तलाल र दाजु गंगालालको राजनैतिक र सङ्घर्षशील चेतनाबाट हुर्किने वातावरण प्राप्त गरेका श्रेष्ठलेलाई बि स १९९७ को राणा शासन विरोधी आन्दोलनमा आफ्ना दाजु गङ्गालाल श्रेष्ठलाई गोली हानेर र अन्य तीन जना धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीलाई झुन्डाएर दिएको फाँसीबाट उनको युवा मस्तिष्कमा झन् झड्का लाग्यो । उनी देश र जनतामाथि राणा शासनको अत्याचार हेर्न सक्दैनथे ।
उच्च राजनीतिक चेतना भएका पुष्पलालका पिताको समेत अन्याय विरुद्धमा आवाज उठाउने प्रवृत्तिको अनुसरण गर्दै पुष्पलालले अन्याय विरुद्धमा विद्रोह गर्ने आत्मबल बनाए । अझ दाजु गङ्गालालको निर्मम हत्या र हत्या हुने अघिल्लो दिन दाजुले “माइला मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्”, भनेका शब्दहरूले उनलाई अझ ऊर्जा प्रदान गर्थ्यो। दाइको निर्मम हत्याको अर्को वर्ष शम्भु श्रेष्ठ ,राजाराम,प्रेमबहादुर कंसकार लगायतका व्यक्तिहरूसँग मिलेर” नेपाली प्रजातान्त्रिक संघ ” को गठन गरे। १७ वर्षकै कलिलो उमेरबाट राजनीतिमा होमिएका उनले २००४ सालमा नेपाली काङ्ग्रेसले गरेको नागरिक अधिकारको आन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरे।
काङ्ग्रेस पार्टीबाट आफ्नो राजनीतिक अभियान सुरु गरेका उनलाई काङ्ग्रेसले जनताको हित गर्न सक्दैन भन्ने धारणा थियो। उनी व्यक्ति होइन बिचारलाई प्राथमिकता दिन्थे। कम्युनिस्ट नेता मार्क्स र लेनिनबाट प्रभावित उनले २००५ मा कम्युनिस्ट पार्टीको घोषणा पत्र नेपालीमा अनुवाद गरी २००६ सालमा भारतको कलकत्ताबाट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। यस्ता राजनीतिक चेतनाका प्रतिमूर्ति पुष्पलालले उस्तै जुझारु र सशक्त नेत्री साहाना प्रधानसँग विवाह गर्ने सुअवसर प्राप्त गरी परिवारमा पूर्ण राजनीतिक वातावरण बनाए र जनतामा राजनीतिक चेतनाको दियो बाल्दै गए ।
२०१७ साल पौष १ पछि नेपाली इतिहासको कालो दिन पछि कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलन समेत गराउन सफल नेता पुष्पलालले २०२५ मा नै संयुक्त जनआन्दोलनको अवधारणा ल्याएका थिए। बि स १९९९ मा नै अखिल नेपाल वर्ग सभा गठन गरी गणतन्त्रको माग गरेका थिए। प्रजातन्त्र प्राप्त गर्न कम्युनिस्ट र काङ्ग्रेस मिल्नुको विकल्प छैन भन्ने एक दूरदर्शी भावना अनुरूप सामन्तवाद र साम्राज्यवादको अन्त्य गरेर जनताको सरकार स्थापना गर्ने र क्रान्तिकारी भूमिसुधार घोषणा गर्नुपर्ने कुरामा निरन्तर लागिरहे।
राणा शासन र पञ्चायती व्यवस्थाको घोर विरोध गर्दै विद्यालयको स्थापना गरी सीपमूलक तालिम दिने र जनतालाई सचेत गराउने कुरामा सधैँ क्रियाशील नेता पुष्पलाल स्वदेशमा रहेर होस् वा भारतमा रहेर निरन्तर नेपाली जनताको स्वतन्त्रताका लागि लडिरहे। मजदुर ,किसान र श्रमजीवी जनताको मुक्ति आन्दोलनमा लाग्दा लाग्दै बि स २०३२ मा हृदयाघात भयो। डाक्टरले सावधानी अपनाउन भन्दा भन्दै पनि निरन्तर पार्टीको प्रशिक्षण लगायतका गतिविधिमा लागिरहनाले होला सायद नेपाली जनताले स्वतन्त्रताका संवाहक,क्रान्तिका पर्याय,सादा जीवन र उच्च विचारक,शीर्ष राजनीतिक व्यक्तित्व, गणतान्त्रिक नेपालका सपना द्रष्टा, नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्वलाई हृदयाघातबाटै २०३५ साल साउन ७ गते गुमाउनु पर्यो।
धार्मिक अतिवादी कट्टरतालाई चिर्दै द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको स्थापना गर्ने नेपालका कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको गणतन्त्र स्थापनाको सपना साकार त भयो तर नेपालका कम्युनिस्टहरूले गणतान्त्रिक आचरण अपनाउँदै पुष्पलालको व्यक्तित्वको अनुसरण गर्न नसक्दा देश र जनताका आवश्यकता पूरा हुन अझै बाकी नै छ। अझ कम्युनिस्ट पार्टीका नेताहरूको एकले अर्कोलाई हेर्न सम्म नसक्ने,झुट,फुट र कुटको राजनीति होइन सबै कम्युनिस्ट पार्टीहरू एकजुटको वातावरण बनाएर देश र जनताका सपना पूरा गरेमा मात्र पुष्पलालको सपना साकार भएको मानिनेछ।अन्यथा उनको जन्मजयन्ती वा स्मृति दिवस मान्नुको कुनै औचित्य छैन।
(तिला लेकाली : अध्यक्ष,प्रगतिशील लेखक सङ्घ १ न प्रदेश,नेपाल )