काठमाडौँ । सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पाण्डेले सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ई-गभर्नमेन्ट प्रोस्युरमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आशंका गरिएको छ । यस घटनाले सार्वजनिक खरिद प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।
यसअघि सोही प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा धनकुटाका दिवाकर देउजा, बझाङका भरत धामी, तनहुँका संजय भट्ट, काठमाडौँका भाष्कर राज अर्याल, मकवानपुरका सागर कटुवाल र सुनसरीका जीवन कुमार दास रहेका छन् । उनीहरूलाई विभिन्न जिल्लाबाट फरक–फरक समयमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले उनीहरूको बयान तथा प्रारम्भिक अनुसन्धानका आधारमा पाण्डेसमेत घटनामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको जनाएको छ । हाल प्रकरणबारे थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।


