दशैँ क्रेज सुन्दर स्मृति


तारा पराजुली –

बेलबारी, २१ असोज / दशैँ प्रतिको बुझाई, विश्वास र मान्यता ठ्याक्कै कुन प्रसङ्गले कसिलो बनायो त्यता नजाऊ । सानो छँदा भोगेका भोगाइले जे सिकायो ती औधी प्रेममय थिए जसका कारण आज पनि दसैँ प्रिय छ । तर बाल्यकालको दशैँ र आजको दशैँ दर्जा गर्दा आकाश पातालको भिन्नता छ ।

पहाडमा दशैँ आउन लाग्दा हावाको बहाव र बेग नै भिन्न लाग्थ्यो । माटोको सुगन्ध, फुलको सुवास, चराहरूको सङ्गीत, घामको स्पर्श सबै अर्कै छुट्टै प्रेमिल लाग्थे । स्कुल छुट्टी भएपछि औँला भाँच्न सुरु हुन्थ्यो दशैँ आउने दिन गनेर । साँच्चै अनौठो त्यो समय । त्यसमा पनि सबै घरहरू पोतिएर चिटिक्क पारेपछि, बाटो खनेर चौडा र सिनिक्क बनाएपछि वर्णनमा सुनेको स्वर्ग भन्दा कम कहाँ थियो र मेरो घर अनि गाउँ ।

म बच्चादेखि नै अलि पृथक् स्वभावकी केटी रहेछु । अहिले सम्झँदा मेरो उसबेलाको मिहिनेत र सङ्घर्ष आफैँलाई महान् लाग्छ । दशैँसँग जोडिएका अनेकन् निजी अनुभव, साहस र थुप्रै सुन्दर स्मृति छन् मसँग । ती स्मृति र भोगाइले घरीघरी उतै तानेर लैजान्छन् आफैँबाट मेरा दैनिकीहरूलाई र मेरा सपनाहरूलाई ।
हामीले जान्दा हाम्रो घरको कलर न पहेँलो न रातो न सेतो अनौठो रङको थियो । अरूको भन्दा पृथक् घरको कलर देखेर मैले बाबुआमालाई कलर चेन्ज गर्न भनेँ । बुबा आमा मान्नु भएन । ‘अरूको जस्तो त अरूकै छदैछ नि र त हाम्रो फरक बनाएको त’, बुबाको जवाफ थियो । धेरै जिद्दी गरेपछि मात्र उहाँहरूले सहमति दिनु भयो मेरो रहरको घर बनाउन । बुबा आमासँग तर्क र तयारीले जितेपछि त्यस वर्षको घर सिँगार्ने सबैजसो काम मैले आफैँ गर्ने हिम्मत गरेँ । लगभग आउन जान ५ घण्टाको बाटो हिँडेर आफैँ रातो गाडा माटो खोजेर ल्याएँ र घर पनि आफैँ छेपेँ । हाम्रो घर अग्लो तीन तले ठुलो थियो ।

अग्लो र्भयाङ चढेर हरियो किटको बाल्टीमा रङ्गिन माटोको घोल छानाको बलोमा डोरीले झुन्ड्याएर मैले घर छेपेँ । ठुलो बुबाले बुइँगल नजिक पुगेको मेरो उचाइ हेर्दै गर्वले हँसिलो चेहरा बनाएर मनमनै धन्यवाद दिँदै भुइँमा बसेर र्भयाङ समाइदिनुभयो । साना हातहरूले कुचो चोप्दै छ्याप् छ्याप् पहिलो पटक सानी केटीले घर छेपेको देखेर बुबाआमा र छिमेकीहरू छक्कै पर्नु भयो । त्यस बेला म त्यस्तै १३, १४ वर्ष मात्र पुगेकी थिएँ ।

अहिले पनि याद ताजै छ । म कलर(रङ) को कुरामा चाहिँ निकै चुजी रहेछु भन्ने कुरा मैले हाम्रो घरमा तीन वर्षमा तीन वटा रङ छानिछानी पोतेको कुराले पुष्टि गर्छ । रातो रङ पोतेको ठिक एक वर्ष पछिको दशैँमा मैले घरमा सेतो चम्किलो कमेरो माटोले पोतेँ । अर्को वर्षको दशैँमा त्यो पनि मन परेन र निख्खुर पहेँलो रङले घर रङ्गाएँ । माथि पहेँलो तल भुईँमाथिको भागमा सिधा लाइन बनाउन डोरी तन्काएर रातो माटोले पोतेपछि बल्ल बन्यो मेरो रहरको घर । साँच्चै खुब मुस्कुरायो हाम्रो घर त्यस बेला । त्यो भन्दा धेरै मुस्कुराएर रमायो म भित्रको सानो मान्छे । घरमाथि पाखेखेत छेउमा ठूल्ठूला मौवाका रुखहरू थिए । झ्यालहरू रङ्गाउन हामी हरेक वर्ष मौवाको वयस्क बोट खुर्केर बोक्राहरू जम्मा गर्थ्यौँ । ढिकीमा कुटेर उक्त बोक्रा ठुलठुला भाडामा राखेर दुई दिनसम्म आगोमा पकाएपछि पक्की रङ बन्थ्यो । जसले झ्याल ढोका रङ्गाएपछि घर बेहुली झैँ हुन्थ्यो । भित्ता, झ्याल, ढोका आफ्नो चाहना अनुसार भएपछि बल्ल हाम्रो घर सपनाको घर जस्तो भयो । त्यसपछि घरको बाहिरी रङ्ग कहिल्यै फेरिएन । मेरो कलिलो छनोट परिवारको अब्बल स्वीकृति बन्यो समय सँगै घरभित्रका थुप्रै कथाहरू फेरिए जीर्ण प्वालहरू टालिए । पात्रहरू थपिए । अभिनय फेरिए । त्यही घरबाट कैयौँ दशैंहरु बिते । जति बिते खुसीले बिते दुखहरुलाई जितेर बिते । आँसुलाई उछिनेरै बिते । घर पनि एक शक्ति रहेछ, सुरक्षा र विश्वास रहेछ । प्रत्याभूत भयो ।

दशैँमा पिङ हाल्न कि त बारीमा अगौटे(नङ कटुवा)कोदो रोपिन्थ्यो कि त खेतमा तौली धान । बारीका डिलमा बाबियो जोगाएर राखिन्थ्यो पिङ्को लठारो बाट्न भनेर । धान गोडी नसकेको साल अलि भद्दा लाग्थ्यो दशैँ । तसर्थ दशैँ उल्लासले मनाउन झरी बादल नभनी धान गोड्ने काम मैझारो गर्नै पर्थ्यो । दसैँ लागेसँगै गाउँभरि मात्रै होइन पारिपारि बोयातिरबाट समेत शक्तिशाली आवाज मसम्म आइपुग्थ्यो । चिउरा कुट्दा निस्कने ढिकी बजेको त्यो सङ्गीतको मिठास नै छुट्टै थियो ।

आहा ! त्यो बेलाको दशैँ, चिउरा कुटिसकेको दिन मसला कुट्ने दिन पनि हो । तातो हाँडीमा हजुरआमा फिलुङ्गे र फर्सीको बियाँ भुटेर नाङ्लाभरि बनाउने दिन, हामीले धुले अचार कुट्ने दिन । आमा पाकेको काँक्राको खल्पी हाल्नुहुन्थ्यो रायोको पहेँलो छोप मिलाएर । दाजुहरू घरको अन्य काम सिध्याएर गाउँमा बाबियो खोज्न जानुहुन्थ्यो । बुबा पिङको डोरी बाट्नुहुन्थ्यो । ठुलो बुबाले कि त काभ्राको रुखमा कि त मत्तानमुनि पिङ हाल्दिनु हुन्थ्यो । आँगनमा जेठा दाइ(जेठा दमाई) लुगा नयाँ लुगा सिलाउनुहुन्थ्यो आँगनमै कान्छा साहु दुई हातले डोरी तान्दै हतियारमा साँन(धार) लगाउनु हुन्थ्यो । साँध लगाइससेका हँसिया, खुकुरी, कोदालो, कट्टी, तरबार आदि हतियारहरू तलामाथि दुर्गा थापेर ड्म्बरु घण्ट पूजा बजेपछि, आँगनमा खसी मार हानेपछि, नयाँ लुगा लगाएपछि पिङ मच्चाउन थालेपछि बल्ल सुरु हुन्थ्यो हाम्रो दशैँ ।
नयाँ लुगा लगाएर ठुला मान्छेहरूको हातबाट निधारभरि रातो टीका, शिरभरि पहेँलो जमरा र मुट्ठीभरि पैसा र मनभरि आशीर्वाद थापेको दिन संसारकै धनी र भाग्यमानी भएको महसुस हुन्थ्यो ।

एक्लै एक्लै बोलाएर कहाँ आउँथ्यो र पहाडमा दशैँ ? पधेरो घरदेखि अलि पर थियो, उस बेला गाउँमा बत्ती थिएन । फराकिलो बाटो थिएन, बाटोमा र्र्घर गुड्ने गाडी थिएन । पैदल हिँडेर थाके पनि दुःख बिसाउने मनकारी छिमेकी थिए । फराकिलो बाटो नभएर के भो र चौडा छाती र बत्ती भन्दा उज्यालो मन भएका मान्छेहरू गाउँभरि थिए । घर देखी कोसौँ टाढा ढुङ्गेधारो भएपनि मृदु वचनले तिर्खा मेट्ने सँगीहरू थिए । अहिले गाउँमा बाटो छ । बिजुली बत्ती छ । भौतिक रूपले गाउँ झिलिमिली छ तर बत्ती वरिपरि खेल्ने रहरहरू परपर छन् झोलुङ्गेमा झकाईरहेको बालक झैँ उज्यालो आफैँ एक्लै सर्माईरहेछ शून्यताको कोक्रोभित्र ।

जे भए पनि कहिल्यै भुल्न नसक्ने अमिट सम्झनाहरू हृदयमै छन् । त्यो दशैँ क्रेज जसले घरीघरी भेटाइरहन्छन् स्मृतिमा मेरो गाउँ अनि सम्झाइरहन्छन् प्रिय दशैँ अनि प्रिय रङहरू ।

प्रतिक्रिया दिनुहोस्