सुन्दरहरैँचा । नझरेका फूलहरू र भानु साझा पुस्तकालय सुन्दरहरैँचा मोरङको संयुक्त आयोजनामा २१२ औँ भानु जयन्ती विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराईलाई सम्मान गरिएको छ।
भानु जयन्तीको अवसर पारेर नझरेका फूलहरूको ५० औँ शृङ्खलासँगै आयोजित विशेष समारोहमा गायिका भट्टराईले रामायणका श्लोकसहित लोक तथा आधुनिक गीतहरू प्रस्तुत गरी दर्शकलाई साङ्गीतिक वातावरणमा रमाइन्। कार्यक्रममा कवि मनु मञ्जिल, सिजन श्रेष्ठ, चन्द्रमणि गुरागाईँ, रूपनारायण श्रेष्ठ, टीका आत्रेयलगायतका स्रष्टाहरूले भानुभक्त आचार्यको योगदान र आफ्नो सृजना प्रस्तुत गरेका थिए।
साहित्यिक माहौलले सजिएको कार्यक्रममा दुर्गा पराजुली, सञ्जीव धिमाल, यमुना पराजुली, भूमा अधिकारी, नवीन न्यौपाने, शर्मिला सिग्देल, गीता कुलुङ, रमेश निरौला, यादव भट्टराई, हिरा खड्का अधिकारी, तिला लेकाली, जेबी थुलुङ, देवान किराँती, केशव सुनाम, लोक मोक्तान, विशाल गुरागाईँ लगायत दर्जनौँ कवि–कलाकारको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रम नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेका अनुसार साहित्यिक सचिव गीताप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व पुरन याक्खाले गरेका थिए।