विराटनगर । कोशी प्रदेशकी उप–सभामुख सिर्जना दनुवारले तिज पर्वले सबै जातजाति र धर्मका महिलालाई एउटै सूत्रमा बाँध्ने कार्य गरेको बताएकी छन्। प्रेस चौतारी मोरङले मङ्गलवार आयोजना गरेको तिज मिलन कार्यक्रममा बोल्दै उनले तिजले विविधतामा एकता कायम गर्न सहयोग पुर्याएको उल्लेख गरिन्।
“हिन्दु महिला मात्र नभई विभिन्न धर्म मान्ने महिलाले पनि तिजलाई आत्मसात गरेका छन्,” उनले भनिन्। उनले महिलाको जनसंख्या बढी हुँदाहुँदै पनि तिजमा सार्वजनिक बिदा नदिइएकोप्रति प्रश्न उठाउँदै सरकारले यसबारे सोच्नुपर्ने आवश्यकता औँल्याइन्। संविधानमै महिला अधिकारको व्यवस्था भए पनि व्यवहारमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा तिज पर्वमार्फत गम्भीर बहस आवश्यक भएको उनको भनाइ थियो।
तिजलाई भड्किलो भन्ने आरोप अस्वीकार गर्दै दनुवारले महिलाहरू आर्थिक रूपमा सक्षम बन्दै गएको अवस्थामा आफ्नै आम्दानीको केही हिस्सा रमाइलोका लागि खर्च गर्नु स्वाभाविक भएको बताइन्। कार्यक्रममा विराटनगर महानगरकी उप–मेयर शिल्पा निराला कार्कीले तिज महिलाको स्वतन्त्रता र खुसी दिने पर्व भएको उल्लेख गरिन्। उनले तिजलाई धार्मिक मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीकका रूपमा व्याख्या गरिन्।
त्यसै गरी प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले तिज महिलाको सशक्तीकरणसँग जोडिएको पर्व भएको बताउँदै महिला–पुरुष सहकार्यबिना कुनै पनि क्षेत्रमा सफलता सम्भव नभएको उल्लेख गरे। उनले पत्रकारिता पेसामा महिलालाई टिकाइ राख्न कठिनाइ रहेको भन्दै तिजको अवसरमा पेसागत चुनौती र सम्भावनाबारे छलफल गर्नुपर्नेमा जोड दिए।
प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोरङका महिला पत्रकारहरूको सहभागिता रहेको थियो। धार्मिक दृष्टिले तिजलाई शिव–पार्वतीको उपासना गर्ने दिनका रूपमा मनाइन्छ। सांस्कृतिक रूपमा यसले महिलाबिच आत्मीयता, एकता र खुसी बाँड्ने अवसर दिने गर्दछ भने सामाजिक रूपमा महिलाको आवाज अभिव्यक्त गर्ने माध्यमका रूपमा पनि तिज महत्त्वपूर्ण मानिन्छ।