मोरङ । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९औँ वार्षिकोत्सव तथा ३१औँ साधारणसभा अन्तर्गत बेलबारी सेवा कार्यालयस्तरको साधारणसभा बुधवार सम्पन्न भएको छ । बेलबारी नगरपालिका–१ स्थित सांस्कृतिक भवनमा भएको उक्त साधारणसभामा सहकारीको विगत र भावी योजना प्रस्तुत गरिनुका साथै उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मानसमेत गरिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म बेलबारी सेवा कार्यालयले ५० लाख ५१ हजार रुपैयाँ सेयर पुँजी संकलन गरेको छ भने बचत ४ करोड ६३ लाख, कर्जा लगानी ५ करोड ३२ लाख र वासलात ५ करोड ९४ लाख पुगेको विवरण सार्वजनिक गरिएको छ । सुरुवातदेखि हालसम्म यस कार्यालयमार्फत १०७ सदस्यले सहुलियत सुविधा लिएकामा जम्मा ६ लाख ८८ हजार रुपैयाँ बराबरको सेवा उपभोग भएको जनाएको छ ।
साधारणसभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू दिनेश राई, रामबहादुर बस्नेत, क्यारोलिना पन्त, मनीषा पाण्डे र कुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो । यसै गरी सामुदायिक विद्यालयतर्फ प्रथम सेयर सदस्य टिकाराम खत्रीका छोरा नोयन खत्रीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक सिता सुवेदीले गरेकी थिइन् । कार्यक्रममा मेची बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद भट्टराई, सञ्चालक सदस्यहरू नरपति पाण्डे, खेमराज घिमिरे, कृष्णप्रसाद शर्मा लुइँटेल, मञ्जु फुयल अधिकारी, लेखा सुपरिवेक्षण समितिका सदस्य गीता कुँवर, शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहाल, बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य विमला राई र श्यामप्रसाद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।