बेलबारी । बेलबारीका चर्चित स्रष्टा रमेश निरौलाको गजलसङ्ग्रह ‘भावका भँगालाहरू’ को एक समारोहकाबिच लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा साहित्य, कला र सांस्कृतिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई रहेका थिए भने संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइराला, वडा नम्बर ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, पुरन याक्खा, लक्ष्मीप्रसाद फुयल, गणेश दवाडी, लीलानाथ सिलवाल, विन्दु दाहाल मूकदर्शक, विदुर सुवेदी र यज्ञराज सुवेदी सुसेली लगायत प्रदेशभरिका साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए ।
बेलबारीका अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राईले साहित्यकार निरौलाको जीवन र साहित्यिक यात्राको परिचय प्रस्तुत गरे । लोकार्पण समारोहमा लेखक तथा पत्रकार केशु विरहीले कृतिको आलोचनात्मक समीक्षा प्रस्तुत गर्दै ‘भावका भँगालाहरू’ मा समेटिएका गजलहरूले मायाप्रेम, धोका, पीडा, सामाजिक विसङ्गति र विकृतिहरूप्रति प्रहार मात्र नभई आशावादी चेतनाको सन्देश पनि दिएको बताए । उनले आलोचनात्मक दृष्टिकोण राख्दै पाण्डुलिपिमै छलफल गरेर मात्र पुस्तक प्रकाशन गर्ने अभ्यासलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्षेत्रीय लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति देखिएको थियो । केशव सुनाम, डिल्लीराम ओझा, गोपाल नेपाल, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रमोदकुमार ढकाल, रोहिणी रसिक, गणेश लामा, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, विकास बुढाथोकी, विनोद विवश घिमिरे, गीता कुलुङ राई, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकीलगायतका साहित्यकार तथा सर्जकहरू उपस्थित थिए।
कार्यक्रमको अवसरमा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई विशेष सम्मान गरिएको थियो । साथै भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्कीलगायतका स्रष्टाहरूले कृतिभित्रका गजल वाचन गरेका थिए भने गायक चिरञ्जीवी काफ्ले र चण्डी राईले गजलमा स्वर दिँदै माहौललाई भावुक बनाएका थिए ।
साहित्यिक जीवनको प्रारम्भ मुक्तकबाट गरेका रमेश निरौला कविता, गजल, गीत र लघुकथामा समान अधिकारले कलम चलाउने बहुआयामिक स्रष्टाका रूपमा चिनिन्छन् । उनी हाल बेलबारी साहित्य विकास समितिका अध्यक्ष समेत हुन् । कार्यक्रम बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन सङ्गीतकर्मी जेबी थुलुङले गरेका थिए ।
यस लोकार्पण समारोहले न केवल एक कृतिको सार्वजनिक प्रस्तुतिमात्र गरेको छैन, स्थानीय साहित्यिक वातावरणमा नयाँ ऊर्जा भरिदिएको महसुस गरिएको छ ।