मिहिनेतको फल : बालुवामा सुन फलाउँदै लालभित्तीको युवाहरू


बेलबारी, १३ कार्तिक । गर्दा नहुने केही रहेनछ भन्ने उदाहरणको रूपमा लोहान्द्राको नजिकको काँसघारीमा बदाम फलाउन सफल लालभित्तीका पौरखी युवाहरूको कामबाट लिन सकिन्छ ।बेलबारी नगरपालिका वडा नं २ मा पर्ने लोहन्द्रा खोलादेखि पूर्वतर्फ रहेको काँस घारी अहिले काँसघारी छैन । काँस झुलेका ठाउँमा यतिखेर बदामका बोट झुलेका छन् ।

यो ठाउँलाई बेलबारी २ लालभित्तीका तुलसी ओझा र कोमल पाण्डे दुई जना मिलेर हराभरा बनाएका हुन् । उनीहरूले मिलेर उक्त स्थानमा बदाम खेती सुरु गरे । सुरुमा त्यस्तो डरलाग्दो काँसघारीमा के होला र जस्तो लागेको थियो तर मेहनतले अहिले उक्त स्थान सुन फल्ने ठाउँमा परिणत भएको छ ।

उनीहरू दुवै जना पूर्व माओवादी कार्यकर्ता हुन् । ओझा तत्कालीन माओवादीका केन्द्रीय सदस्य हुन् भने पाण्डे क्षेत्रीय ब्युरो सदस्य । लामो समयसम्म पार्टीको जिम्मेवारी सम्हालेका उनीहरू यतिखेर राजनीतिबाट विश्राम लिएर कृषि कार्यमा लागेका छन् । राजनैतिक नेतृत्वले जनताको मनोभाव अनुसार काम नगरेपछि बिरक्तिएर आफूहरू राजनीतिलाई विश्राम दिएर व्यावसायिक कृषिमा लागेको बताउँछन् । कृषिलाई एउटा भरपर्दो पेसा भएको बताउने उनीहरू विशुद्ध अर्ग्यानिक खेतीमा लागेका छन् ।

उनीहरूको मेहनत देखेर स्थानीयहरू पनि छक्क छन् । स्थानीयलाई अहिले त्यो स्थान पहिलाकै जस्तो लागेको छैन । नयाँ स्थानमा गएजस्तो भान भएको बताउँछन् ।

उनीहरूको मेहनत देखेर स्थानीय जेबी थुलुङले ‘मेहनतीको जवाफ अल्छीहरूलाई’ भन्ने प्रतिक्रिया दिएका छन् ।उनीहरूको मेहनतको कथा थाहा पाए पछि सामाजिक सञ्जालमार्फत शुभकामना दिनेको लर्को देखिएको छ । बेलबारी –२ कै कृष्ण मेन्याङ्वोले दस वर्षे जनयुद्धमा राइफल खेलाएका हातमा बदामका गोली गठ्ठा देख्दा साह्रै गर्व लागेको बताएका छन् । 

युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतले ‘बाझो राखेर बिदेसी डलरमा कोठा बस्नेलाई गतिलो जवाफ हो’ भन्दै मेहनती किसानलाई समाजले सम्मान गर्नु पर्ने विचार व्यक्त गरेका छन् । स्रष्टासमेत रहेका सुन्दरहरैँचाका मोहन काफ्लेले ‘उद्योगिनं पुरुषसिंहमुपैति लक्ष्मीः’ नीतिश्लोक पोस्ट गर्दै यो उक्ति चरितार्थ भएको प्रतिक्रिया दिएका छन् । 

२०६९-७० तिर कृषि प्रयोजनका लागि भनेर कोमल पाण्डेसहितका समूहले उक्त स्थानमा ८ बिगाहा जमिन लिएका थिए । २०७२ सालमा रिसोर्ट सञ्चालन गर्ने अवधारणाका साथ उक्त समूहमा अरू केही मानिस थपिए । कम्पनी दर्तासमेत भयो । तर रिसोर्ट सञ्चालन हुने अवस्था नआए पनि पाण्डेको टिम आठ बिगाहा मध्येबाट साढे तीन बिगाहा जमिन लिएर छुट्टियो । उनलाई पूर्व माओवादीबाट आएका मानिसहरूले साथ दिए । हाल पनि उक्त जमिन सोही समूहकै अधीनमा रहेको छ । 

साढे तीन बिगाहा मध्ये ३-४ कठ्ठामा माछापालन गरेका छन् भने बाँकी रहेको खाली ठाउँमा उनीहरूले बदाम खेती गरेका छन् । उनीहरूको मेहनत खेर गएको छैन । बदाम पनि राम्रो फलेको तुलसी ओझा बताउँछन् । आफूहरूले १८-१९ केजी बदामको दिउल रोपेकोमा प्रति माना एक मुरी फल्ने ओझाको अनुमान रहेको छ । यसअघि पहाडमा पनि बदाम खेती गरेका ओझा पहाडमाभन्दा राम्रो फलेका बताउँछन् ।

उनी भन्छन् ‘सामान्यतया एक मानाको एक मुरी फल्ने गर्छ तर यहाँ अझै बढी फल्ने आँकलन गरिएको छ ।’ पहाडमा छँदा आफूले १३५ देखि १४० मुरीसम्म बदाम फलाउने गरेको उनी बताउँछन् । यहाँ पनि ६० देखि १०० मन जति फल्ने उनको अनुमान रहेको छ ।

उनी भन्छन् ‘अहिले धमाधम टिप्ने काम भइरहेको छ । फलाइ पनि राम्रै छ । कोरोनाले गर्दा बाहिर निस्कन नपाएकोले कमसल बीउ परेछ नत्र अझै राम्रो फल्ने थियो ।’                                        

बदाम टिप्न थालेका थिए तर टिप्दै जाँदा अलि पाकेको छैन कि भन्ने लागेर अहिले केही दिनलाई खन्ने काम थाती राखेका छन् । उनीहरूले यो क्षेत्रमा बदामका साथै कागती तथा विभिन्न प्रकारका तरकारीसमेत लगाएका छन् । यसको रेखदेख गर्न उनीहरूले त्यहाँ एउटा परिवार राखेका छन् । त्यसो त उनीहरू आफै पनि यसको संरक्षणमा लागिरहेका छन् ।                                                       

बदामले गर्दा दुर्वेशनीको अखडा हट्यो   

यसभन्दा अगि उक्त क्षेत्र दुर्वेशनीको अखडाको रूपमा परिचित थियो । काँसघारी भएकोले दुर्वेशनीलाई सजिलो भएको थियो । यही विकृति र विसङ्गतिलाई हटाउन आफूहरूले यस क्षेत्रमा खेती सुरु गरेको स्थानीय कोमल पाण्डे बताउँछन् ।

पार्टीको १२ बुँदे सम्झौता नै गलत रहेको ठहर गर्दै पार्टीबाट निष्क्रिय रहेका ओझाको पार्टीमा पुन : सक्रिय हुने आशय देखिँदैन तर राजनीतिमा विश्राम लिएर यस कार्यमा लागेको बताउँने पाण्डे चाहिँ आवश्यक परेमा आफू पुन : राजनीतिमा फर्कन सक्ने बताउँछन् ।

पाण्डे भन्छन् ‘नेतृत्वले जनताको मनोभाव नबुझ्दा राजनीतिबाट विश्राम लिएको हुँ । भोलि परिवर्तनका लागि मेरो आवश्यकता परेमा म पछि हट्ने छुइन ।’                                           

मानिसहरू चिया पसलमा बसेर अनेक बेतुकका गफ छाँटेर समय व्यतित गर्ने गर्छन् । धेरैलाई त अरूको कुरो नकाटी खाएकै पच्दैन । तर लालभित्तीका ओझा र पाण्डेले गफभन्दा पनि काम गरेर देखाइदिएका छन् । उनीहरूको मेहनतले आज लोहान्द्रा दुर्वेशनीको अखडा बनिरहेको स्थानलाई सुरक्षित बनाउने काम मात्र गरेको छैन उनीहरूले यसलाई आय आर्जनको राम्रो माध्यमसमेत बनाएका छन् । अरूले पनि लालभित्तीका यी युवाबाट केही सिक्न जरुरी छ ।  

प्रतिक्रिया दिनुहोस्