काठमाडौँ, २५ भदौ । कोभिड–१९ महामारीले निम्त्याएको विषम संकटको परिस्थितिमा अहिले पुरै विश्व नै भयभीत बनेको छ । हामी धेरैको चिन्ता र चासोको विषय यो महामारीको अन्त्य कहिले र कसरी हुन्छ भन्ने नै छ । निरन्तर बढ्दै गएको बन्दाबन्दी र निषेधाज्ञाले हामी सबैलाई असर पारिरहेको छ । कोभिड–१९ को डर, कहर र बन्दाबन्दीले सिङ्गो देशकै अर्थतन्त्र धराशायी बनाएको छ । धेरैको गाँस, बास, कपासको जोहो गर्ने मेलो गुमेको छ । संक्रमण रोक्न लगाइएको बन्दाबन्दी, लकडाउन, र सामाजिक दुरीका कारण एक्लोपनलाई बढाएको छ ।
यी अवस्थाले धेरैको व्यक्तिगत, सामाजिक, आर्थिक, संज्ञानात्मक, र व्यवहार पक्षमा असर पुर्याउन रहेको छ । निरन्तर बढिरहेको बन्दाबन्दी र निषेधाज्ञाको कारण धेरैले आफ्नो दैनिकीलाई सहज रूपमा सञ्चालन गर्न सकिरहेका छैनन् । जसले गर्दा विभिन्न किसिमको मनोवैज्ञानिक, आर्थिक, र सामाजिक तनावहरू उत्पन्न भइरहेको छ । यी अनगिन्ती तनावहरूलाई सकारात्मक रूपले व्यवस्थापन गर्न नसक्दा व्यक्तिले आफ्नो ज्यानमा नै हानी पु¥याउने कामहरू गर्ने गर्छन् । व्यक्ति आफैले जानीजानी आफ्नो जीवनलाई हानि पु¥याउने र ज्यान लिने व्यवहारलाई आत्महत्या भन्ने गरिन्छ ।
नेपालमा वर्षैनी आत्महत्या गर्नेको तथ्याङ्क बढ्दो छ । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्कलाई हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५,७५४ व्यक्तिहरूले आत्महत्याका कारण ज्यान गुमाएका थिए । यो वर्ष भने सो तथ्याङ्क ९.१२५ ले बढेको देख्न सकिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ६,२७९ आत्महत्याका कारण ज्यान गुमाएका थिए । यो तथ्याङ्कलाई हेर्दा प्रत्येक दिन सरदर १७ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।
बन्दाबन्दी र निषेधाज्ञाले गर्दा उद्यमशील र परिवर्तनका संवाहक भनेर चिनिने युवा वर्गमा भने ठुलै असर परेको छ । रोजगारी गुमाउँदाको पिडा, व्यापार व्यवसायमा व्यहोर्नु परेको घाटा, भविष्य प्रतिको अनिश्चितता, पारिवारिक, सामाजिक जीवनयापन गर्न नपाउँदाको छटपटीले स्वाभाविक रूपमा तनाव, निराशा, एक्लोपन बढाएको छ जसले गर्दा मानसिक स्वास्थ्य समस्याहरू बढेका छन् र प्रकारान्तरमा आत्महत्याको कारक बनेका छन् ।
नेपालले लिएको दिगो विकासका लक्ष्यमा समेत आत्महत्याको दरलाई घटाउने भनिएको भएता पनि यो विषयलाई सम्बोधन गर्न सरकारको तर्फबाट खासै पहल भने भएको पाइन्दैन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका विशेषज्ञहरू र पेशावहरुको सुझावको अनुसार यो क्षेत्रमा सबै सरोकारवाला निकायहरूको (जस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रदेश, स्थानीय तथा सङ्घीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, परिवार, समाज, आदि) सामूहिक पहल र सहकार्य हुनु आवश्यक रहेको पाइन्छ ।
हामी सबैको एकीकृत प्रयास र साझेदारी भएमा मात्र हामी आत्महत्या न्यूनीकरण गर्न सफल हुन्छौँ । आत्महत्यासँग सम्बन्धित भ्रम र कलङ्कलाई चिर्दै निस्फिक्री भई मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य समस्या, आत्महत्याको सोचका बारेमा कुरा गर्न सक्ने वातावरण सिर्जना गर्न सकिएमा अप्ठ्यारोहरूलाई पहिचान गरी सही सहयोग र सेवा प्रदान गर्न सकिन्छ ।
अन्ततः सेप्टेम्बर १० तारिको विश्व आत्महत्या रोकथाम दिवस, २०२० को नारा “आत्महत्या रोकथाममा सबैको सहकार्य” लाई आत्मसाथ गर्दै आ–आफ्नो क्षेत्रबाट आत्महत्या रोकथामका लागि पहल र सहकार्य गर्नु अपरिहार्य आवश्यकता छ । हामी सबैको सहकार्यले मात्र नेपालले दिगो विकासमा समावेश गरिएको लक्ष्य प्राप्तिमा टेवा पुग्दछ ।
विनय पाण्डे
मनोविद्, कोसिस