नेपालको जित : लाओसविरुद्ध ९–० को गोल वर्षा, सावित्राद्वारा पाँच गोल


काठमाडौं । नेपाली महिला फुटबल टोलीले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ। उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा शनिवार सम्पन्न खेलमा नेपाली टिमले आक्रामक शैलीमा प्रतिद्वन्द्वी लाओसलाई हराउँदै प्रतियोगिताको विजयी सुरुआत गरेको हो।

खेलमा नेपालका लागि कप्तान सावित्रा भण्डारी एक्लैले ५ गोल गर्दै असाधारण प्रदर्शन गरिन्। उनले खेलको ४५औँ, ५५औँ, ७५औँ, ७९औँ र ८८औँ मिनेटमा गोल गर्दै व्यक्तिगत पाँच गोल पूरा गरिन्। सावित्राको यो प्रदर्शन नेपाली फुटबल इतिहासमै महिला तर्फ दुर्लभ उदाहरण हो।

नेपालले खेलको सुरुवातदेखि नै आक्रमणको धार कायम राखेको थियो। खेलको १२औँ मिनेटमै अनिता बस्नेतले सावित्राको हेडिङ पासमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अन्त्यतिर, अनिता केसीको कर्नर पासमा सावित्राको हेडरमार्फत दोस्रो गोल गर्दै नेपालले पहिलो हाफ २–० को अग्रतामा टुङ्ग्यायो।

दोस्रो हाफमा नेपाल झन् आक्रामक देखियो। ४७औँ मिनेटमा सरु लिम्बूले तेस्रो गोल गरेकी थिइन्, जुन उनको ५०औँ अन्तर्राष्ट्रिय खेलमा प्राप्त विशेष उपलब्धि थियो। त्यसपछि सावित्राले आफ्नो गोल वर्षा सुरु गरिन्। ५५औँ मिनेटमा सावित्राको दोस्रो गोल, त्यसपछि ५७औँ मिनेटमा रश्मि कुमारी घिसिङको गोल हुँदै नेपालले ५–० को अग्रता लियो।

७५औँ र ७९औँ मिनेटमा सावित्राले पुनः गोल गर्दै ह्याट्रिकपछि चौथो गोल पूरा गरिन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी अनिता केसीले आठौँ गोल गरिन् भने खेलको ८८औँ मिनेटमा सावित्राले आफ्नो पाँचौँ गोल गर्दै स्कोरलाइन ९–० पुर्याइन्। लाओसले खेलभरि गोल फर्काउने कुनै अवसर सदुपयोग गर्न सकेन। गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट बचाउ गर्दै क्लिनसिट सुरक्षित गरिन्।

नेपालले यस जितसँगै समूह चरणमा बलियो सुरुवात गरेको छ। अब नेपालले अर्को खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेलमा उज्बेकिस्तानसँग भिड्नेछ।

यो जितसँगै नेपाली महिला टोलीले आगामी चरणमा पुग्ने आशा बलियो बनाएको छ। सावित्रा भण्डारीको नेतृत्वमा खेलको आक्रमणात्मक शैली र टिम संयोजनले नेपाली फुटबल प्रेमीहरूलाई आगामी खेलहरूमा अझ उत्साहित बनाएको छ।

नेपालको यो जित केवल एक खेल मात्र नभई, महिला फुटबलको क्षेत्रमा नयाँ इतिहास कोर्न सफल उपलब्धि बनेको छ।

प्रतिक्रिया दिनुहोस्