कानेपोखरीमा फर्किएका आप्रवासी श्रमिक उद्यमीलाई सम्मान र सामग्री सहयोग


कानेपोखरी । विदेशबाट फर्किएर स्वदेशमै उद्यमशीलताको बाटो समातेका आप्रवासी श्रमिक उद्यमीहरूलाई कानेपोखरी गाउँपालिकाले औपचारिक रूपमा सम्मान गर्दै थप प्रोत्साहन प्रदान गरेको छ। गाउँपालिका र रेमी परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा १२ जना श्रमिक उद्यमीहरूलाई नगद २४ हजार रुपैयाँ र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा उनीहरूले विदेशमा आर्जन गरेका सीप र अनुभवलाई स्वदेशमै आत्मनिर्भर उद्यममा रूपान्तरण गरेको योगदानप्रति उच्च कदर गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम अन्तर्गत पालिका, वडा र टोल तहमा गठन भएका ४५ वटा आप्रवासी श्रमिक सञ्जालहरूलाई कार्यालय व्यवस्थापनका लागि प्रारम्भिक सामग्री समेत प्रदान गरिएको छ। उद्यम प्रवर्द्धन सहयोग योजनाअन्तर्गत ५० प्रतिशत अनुदानमा २ थान च्यापकटर, ३ थान ह्वीलबेरो र १ थान सबमर्सिबल पम्प लगायत आधुनिक उपकरणहरू समेत हस्तान्तरण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजमती इङ्नामले विदेशबाट फर्किएर नयाँ सुरुवात गरिरहेका श्रमिकहरूलाई मार्गदर्शन र साथ दिने प्रतिबद्धता जनाउँदै भनिन्,“बाहिर दुःख गरेर ल्याएको रकम र सिकेका सिपलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्तामा हुनेहरूका लागि पालिकाले मार्गदर्शन गर्नेछ। हामी सिप सिकाउनेलाई सही सदुपयोग गराउने गर्छौँ, जागिर खुवाउने होइन।”

उपाध्यक्ष भोला प्रसाद अधिकारीले पालिकाले अहिले प्रारम्भिक चरणमा सानो सहयोग गरे पनि भविष्यमा दीर्घकालीन योजना र कार्यक्रममार्फत थप सहयोग विस्तार गरिने बताए। उनले सहभागी सबै श्रमिक उद्यमीहरूलाई सफलताको शुभकामना पनि व्यक्त गरे। कार्यपालिका सदस्य सुशीला श्रेष्ठले विदेशमा सिकेका सीप र अनुभवलाई स्वदेशमै उपयोग गर्न आग्रह गर्दै भनिन्,“अहिले नाफा मात्रै होइन, आत्मसम्मान र दीर्घकालीन सोचको सुरुआत हो।”

रेमी परियोजनाले वैदेशिक रोजगारीमा जाने र फर्किएपछि पुनः स्थापनामा कठिनाइ भोग्ने श्रमिकहरूलाई सीप विकास, भाषा तालिम र श्रम सुरक्षाका विषयमा परामर्श तथा सहजीकरण गर्दै आएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव, रेमी परियोजनाका कर्मचारीहरू, आप्रवासी श्रमिक सञ्जालका पदाधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कानेपोखरी गाउँपालिकाको यो पहलले फर्किएका आप्रवासी श्रमिकहरूलाई आत्मनिर्भर बन्ने मार्गमा थप हौसला प्रदान गरेको छ। स्थानीय सरकार र साझेदार संस्थाहरूको सहकार्यमा यस्ता कार्यक्रमले दीर्घकालीन सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्