बेलबारी । बेलबारी नगर अस्पताल साथै युनिभर्सल यूथ ग्रुप उर्लाबारीको प्राविधिक सहयोगमा दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको नगर अस्पतालमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यको मात्र नभएर सबैलाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अध्यक्ष गोमा खुलालले बताइन । महिला पुरुष दुवैलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले बताइन ।
शिविरमा महिला रोग विशेषज्ञ तथा जेनेरल सर्जन विशेषज्ञ चिकित्सकद्वारा पाठेघरको क्यान्सर सम्बन्धी परामर्श साथै महिलाहरूमा हुने विभिन्न समस्याको स्वास्थ्य जाँचसँगै महिला तथा पुरुषमा हुने गुप्त रोग सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने सुविधा रहेको थियो । योसँगै यस शिविरमा निःशुल्क औषधी वितरण साथै ल्याब परीक्षण गरिएको युनिभर्सल यूथ ग्रुपका अध्यक्ष सुनिल धिमालले जनाएका छन् ।
शिविरमा पाइल्स, फिस्टुला, फिसर, हाइड्रोसिल, गाठागुठी लगायतका रोगहरूको पहिचान गरी बिना अपरेसन विधिबाट उपचारको परामर्श प्रदान गर्नुको साथै महिला सम्बन्धी पाठेघरको मुखको क्यान्सर (भि.आइ.ए टेस्ट) स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, महिनावारी गडबडी लगायत महिलाहरूमा देखिने सम्पूर्ण रोगहरूको पहिचान गरी उपचार साथै परामर्श प्रदान गरिएको धिमालले बताए ।