काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
सुनिलले दुई जना पीडितसँग सर्बिया पठाइदिने भन्दै १० लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए । पीडितहरूबाट उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१० क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका सोनारलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यसैबिच, बैंकिङ कसुर मुद्दामा फरार दुई प्रतिवादीसमेत पक्राउ परेका छन् । तनहुँ बन्दिपुर गाउँपालिका–१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ का ३८ वर्षीय प्रेमबहादुर विक पक्राउ परेका हुन् ।
जिल्ला अदालत काठमाडौँको २०८० मङ्सिर २७ गतेको फैसलाले रु ११ लाख जरिवाना र एक महिना कैद सजाय तोकिएका भण्डारीलाई शुक्रवार काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ ।
उता, विकलाई बिहीबार गोंगबुबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । त्यस्तै, चेक अनादर मुद्दामा फरार रहेकी ललितपुर महालक्ष्मी नगरपालिका–३ इमाडोल बस्ने र मोरङको लेटाङ नगरपालिका–९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।