उल्टो यात्रा कहिलेसम्म ?


तारा पराजुली – मोरङ, २ साउन । आदरणीय कमरेडहरू ! तपाईँहरू मिल्नुस् । मात्र मिलिदिनुहोस्।काम गर्ने त हामी छँदै छौ नि। दैनिक १५/१६ घण्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईँहरूको आत्म केन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ।

हामीले अझै गर्नै पर्ने कामहरूको फेहरिस्त निकै लामो र फराकिलो छ।धेरै पर नजाऔँ एक आर्थिक वर्षको अंकगणितले हामीलाई धेरै कुरा सोच्न पर्याप्त स्पेस दिई हाल्छ।तपाईँहरूले पनि भोग्नु भयो;असार सुरु भएदेखि नै बाढी पहिरोले बितण्ड्ता सुरु गर्‍यो।

असोज महिनासम्म अन्य काम सँगसँगै राहत वितरणमै बित्यो।मंसिरपछि चिसो र शीतलहरूका कारण जनजीवन कष्टकर बन्यो । कमजोर आर्थिक हैसियत भएका नागरिकहरूको लागि दशा बन्यो यो हिउँद।विकास निर्माणका कामसँगै नागरिकहरूको सहारा बन्दै शीतलहरूसँग जुध्दै गर्दा कोरोनाजस्तो जटिल भाइरसले आतङ्कित बनायो।कोरोनाको कठोर प्रहार झेल्न हामीलाई हम्नेहम्मे परेको छ।

यो समय हामी एक ढिक्का भएर सड्ढटसँग जुध्ने कि कलह हुर्काउने ? मैले बुझेको कुरा यति हो, यस बेला विश्व नै कसरी आफ्ना नागरिक बचाउने भन्ने निष्कर्षमा अडिएको छ । यस बेला जनताको आँगनको सरकार स्थानीय सरकारको प्रतिनिधिको नाताले हामी अत्यन्तै संवेदनशील भएर खटिरहेका छौ कतै विकास निर्माणका काममा त कतै संकट समाधानको लागि अग्रपंक्तिमा।

हामी भने दैनिक जसो १५/१६ घण्टा जनताको काममा तल्लीन भइरहेकै बेला तपाईँहरूको यस प्रकारको बेमौसमी मादलले कस्तो ताल दिइरहेको छ ? यो बेधुन र लयबिनाको बाँसुरी कहिलेसम्म सुनिरहने ? यो कलहले कस्तो संज्ञा देला ? साउने झरिले हाम्रा कच्ची बाटोहरू हिलाम्मे छन् ।

हामीले टालटुल गरेर हिँड्न सक्ने बनाएका छौँ। यो संवेदनशील समय तपाईँहरू सडकभरि पोखिएर झन् धेरै हिलो र प्रदूषण बढाइरहनु भएको छ । कमरेडहरू ! एउटै छानो ओढेर बसेको बेला हामीलाई पोल्ने आगोले तपाईँलाई चाहिँ शीतल दिन्छ र ? हामीलाई भिजाउने झरीले तपाईँलाई चाहिँ ओभानो राख्छ र ? अझै समय छ विवेकको प्रयोग गरौँ ।

संसारमा प्रतिष्ठा भन्ने चिज परिवार,कुल वंशसँग जोडिएकै कारण परिवारको एक सदस्यले मात्रै गलत गरे सिंगो परिवारको शिर झुक्छ। अझ तपाईँहरू शीर्षस्थ व्यक्तिहरूका कारण लाखौँ कार्यकर्ता करोडौँ शुभेच्छुक शुभचिन्तकहरूको पार्टीप्रतिको प्रेम आत्मविश्वास नटुटोस् । फेरि पनि निवेदन छ;काम हामी गर्छौँ तपाईँहरू नकाम नगरिदिनुहोस् ।

देश रहे मात्र पार्टी रहन्छ । स्वाभिमान बाँचे पद योग्यकै कोटमा जाने हो। यो संकटको जटिल घडीमा सम्पूर्ण स्वार्थहरू भुलेर संकट समाधान र राष्ट्रिय स्वाभिमानको लागि जुट्ने समय पदीय दौडमा लाग्नुले उल्टो यात्राको सङ्केत गरिरहेको छ । मेरो प्रश्न फेरि पनि, हामीलाई घरीघरी दुखाउने कुरूप घाउले तपाईँलाई भने कस्तो शान्तिको महसुस भएको छ ? काम हामी गर्छौँ तपाईँहरू नकाम नगरिदिनुहोस् ।

देश नै सर्वोच्च र सर्वमान्य हो । देश रहे मात्र पार्टी रहन्छ। फेरि पनि अनुरोध,काम हामी गर्छौँ तपाईँहरू नकाम नगर्दिनुहोस् ।

,

(लेखक बेलबारी नगरपालिकाकी उपमेयर हुन् )

प्रतिक्रिया दिनुहोस्