मोरङ । केराबारी गाउँपालिका-९ भलुवामा आयोजित ‘शिवरात्रि कप २०८२’ अन्तर्गत चौथो शिवरात्रि खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि बर्दश फुटबल क्लब मिक्लाजुङले जितेको छ । आइतबार महाशिवरात्रिको अवसर पारेर सम्पन्न भएको रोमाञ्चक फाइनल खेलमा घरेलु टोली केराबारीलाई टाइब्रेकरमा पराजित गर्दै मिक्लाजुङ च्याम्पियन बनेको हो ।

महाशिवरात्रिका दिन सम्पन्न फाइनल निर्धारित समयसम्म २-२ गोलको बराबरीमा टुंगिएको थियो । दुवै टोलीले आक्रामक र संयमित खेल प्रदर्शन गर्दै दर्शकलाई उत्साहपूर्ण प्रतिस्पर्धा देखाए । निर्धारित समयपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । लामो र तनावपूर्ण टाइब्रेकर १३औँ प्रहरसम्म पुगेको थियो, जहाँ मिक्लाजुङले १२ गोल गर्दै बाजी मार्दा केराबारीले ११ गोलमा सीमित हुनुपर्यो ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिक्लाजुङका गोल रक्षक सन्दीप लिङदेन ‘म्यान अफ द म्याच’ घोषित भए । उनको निर्णायक भूमिकाले टोलीलाई उपाधिसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ ।

कोसिस युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताले स्थानीय खेलकुद वातावरणलाई उत्साहमय बनाएको थियो । विभिन्न टिमको सहभागितासहित सञ्चालन गरिएको प्रतियोगिता संयोजक शङ्कर मगरको अध्यक्षतामा सम्पन्न भएको हो । मगरले प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने खेलाडी, प्रायोजक, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गरे । उनले यस्ता प्रतियोगिताले युवालाई अनुशासित, मेहनती र सकारात्मक दिशातर्फ उन्मुख गराउँदै स्थानीय खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेता मिक्लाजुङले ट्रफी, मेडलसहित नगद रु. ५१ हजार १११ पुरस्कार प्राप्त गर्यो भने उपविजेता केराबारीले ट्रफी, मेडलसहित रु. ३१ हजार १११ नगद हात पार्यो । शिवरात्रिको अवसरमा आयोजित यस प्रतियोगिताले खेल प्रेमी दर्शकको उल्लेखनीय उपस्थिति र उत्साहपूर्ण समर्थन पाउँदै स्थानीय स्तरमा खेलकुद विकासको नयाँ ऊर्जा थपेको आयोजकको दाबी छ ।







