सुन्दरहरैँचा र बेलबारीका ऐतिहासिक व्यक्तिमा आधारित कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित


मोरङ, सुन्दरहरैँचा । लेखक तथा अनुसन्धाता केशु विरहीद्वारा लिखित ‘जीवनकथा अग्रजका’ नामक कृति प्रकाशित भएको छ । लगभग २ वर्ष लगाएर सुन्दरहरैँचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको अध्ययन गरिएको यस कृतिलाई विशेष कार्यक्रमका साथ लोकार्पण गर्न तयारीमा रहेको कोसी साहित्य–कला परिषद् नेपालले जनाएको छ ।

अग्रजको सम्मान गर्दै उनीहरूमा भएको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तयार पारिएको यो कृति २०८२ सालमै प्रकाशित भए पनि नयाँ वर्षको अवसर पारेर मात्र लोकार्पण गर्न लागिएको कृतिका लेखक विरही बताउँछन् । कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ ले दिएको जानकारीअनुसार यो कृति वैशाख १८ गते, शुक्रवार ११ बजे सुकुना बहुमुखी क्याम्पसको सभाहलमा दुवै पालिकाका सामाजिक तथा सांस्कृतिक व्यक्तिहरूको उपस्थितिमा एक विशेष कार्यक्रमका साथ लोकार्पण हुनेछ ।

विगत लामो समयदेखि अनुसन्धान विधामा कलम चलाउँदै आएका विरहीको १४ औँ पुस्तकका रूपमा प्रकाशित यो पुस्तक उनको १२ औँ मौलिक कृति हो । आठराई गाउँपालिका –२, खाम्लालुङ, (दोरप), तेह्रथुममा जन्म भई पछिल्लो समय मोरङको बेलबारीलाई कर्मथलो बनाएका विरही एक जना पुराना पत्रकार हुन् । पत्रकारिता, शिक्षण तथा लेखन पेसासँग जोडिएका उनका यसअघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘सुस्केरा’ (सामूहिक सङ्कलन) –२०६२, ‘दन्किएको आगो’ (गजलसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको सेन्डल’ (बालकथासङ्ग्रह) –२०७७ जस्ता आधा दर्जनभन्दा बढी विधा साहित्यका कृति बजारमा ल्याइसेका छन् ।

पछिल्लो समय अनुसन्धान कार्यमा रमाइरहेका विरहीले‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) र ‘उपद्रष्टा हर्कमान तामाङ’ (२०८१) जस्ता अनुसन्धानमूलक कृति प्रकाशित भइसकेका छन् । यी कृतिमार्फत उनले ओझेलमा रहेका लेखक तथा स्रष्टालाई बाहिर ल्याउने काम भएको छ । यो पछिल्लो कृतिले भने सुन्दरहरैँचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न विधाका ४६ जना व्यक्तिलाई बाहिर ल्याइएको छ ।

उनले जेजति कार्य गर्दै छन् ती सबै जनस्तरकै सहयोगबाट सम्पन्न गर्दै आएका छन् । जनस्तरबाट जस्तो राज्यका निकायबाट भने अनुसन्धानका कार्यमा अपेक्षाकृत रूपमा सहयोग पाउन नसकेको उनको भनाइ रहेको छ । अन्य प्रकृतिका कार्यक्रममा जसरी सहयोग मिल्छ तर अनुसन्धानमा भने सहयोग नमिलेको उनको अनुभव रहेको छ । खोजअनुन्धानको महत्त्व बुझाउन नसक्ता राज्यका निकायबाट निर्माण हुने नीति तथा कार्यक्रममा यस्ता विषयले स्थान नपाएका तर आफू यसको महत्त्व बुझाउने काममा पनि लागिपरेको उनको भनाइ रहेको छ । उनी भन्छन्, ‘म अरूलाई दोष दिन चाहन्नँ । कतिपय सन्दर्भमा हामीले नै अनुसन्धानको महत्त्व बुझाउन नसकेको पनि हुनसक्छ । म यसको महŒव बुझाउने बाटामा छु । हेरौँ कतिको सफल भइने हो । मेरो प्रयास सधैँ सकारात्मक रहने छ ।’

प्रतिक्रिया दिनुहोस्