इरन राईद्वारा निर्वाचनपछिको भेटघाट तथा धन्यवाद अभियान सुरु


मोरङ । प्रतिनिधिसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेदवार बनेका इरनकुमार राईले निर्वाचनपछिको धन्यवाद तथा भेटघाट कार्यक्रम सुरु गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राईले कार्यकर्ता तथा मतदाताप्रति आभार व्यक्त गर्न आजदेखि वडा स्तरमै पुगेर धन्यवाद दिने अभियान थालेका हुन् ।

सो अभियानको सुरुवात पथरीशनिश्चरे नगरपालिका का विभिन्न वडाबाट गरिएको छ । राईले वडा नम्बर १, २, ३, ४, ७, ८, ९ र १० का वडा कमिटीमार्फत सो क्षेत्रका कार्यकर्ता र मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सहयोग र विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार युवराज बास्कोटा, प्रदेश सदस्य तथा पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलीप राई, पूर्व संविधानसभा सदस्य मधु गुरुङ लगायत विभिन्न तहका पार्टी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथै जिल्ला सदस्यहरू भगतचन्द्र थपलिया, कृष्ण गुरुङ, कपिलमणि ढकाल, दुर्गादेवी सुवेदी, वडाध्यक्षहरू भीम राई, नैना राई, नवीनजङ कार्की, जीवन खतिवडा, नगरपालिका कमिटीका अध्यक्ष सञ्जीव गिरी, सचिव विरोज मगर, उपसचिव सपना राई तथा अन्य स्थानीय नेताहरूको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै राईले यस पटकको निर्वाचन परिणामलाई ‘प्राविधिक पराजय’ का रूपमा लिनुपर्ने बताउँदै पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई निराश नहुन आग्रह गरे । उनले पार्टीले अघि सारेका प्रतिबद्धता, योजना र नीतिहरू देश र समाजका लागि जनमुखी तथा दीर्घकालीन महत्वका रहेको उल्लेख गर्दै ती योजनाहरूलाई अझ सशक्त रूपमा अघि बढाउन सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरे ।

राईका अनुसार वडास्तरको धन्यवाद कार्यक्रम क्रमशः बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका हुँदै सुन्दरहरैँचा नगरपालिका का विभिन्न वडाहरूमा सञ्चालन गरिनेछ । उक्त अभियानको समापन भने चैत ७ गते बेलबारीस्थित पार्टी कार्यालयमा आयोजना हुने क्षेत्रीयस्तरको विशेष धन्यवाद कार्यक्रममार्फत गरिने जानकारी उनले दिएका छन् ।

निर्वाचनपछिको राजनीतिक समीक्षासँगै कार्यकर्ता र मतदातासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको यो धन्यवाद अभियानले पार्टीभित्र थप उत्साह र सक्रियता ल्याउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्