राज्य धैर्यता पूर्वक समस्या समाधानका निम्ति अग्रसर हुनु पर्दछ


अजित कुमार धिमाल – बेलबारी, ८ वैशाख / कोभिड–१९ बाट दुई सयभन्दा बढी देश आक्रान्त छन् । लाखौँ मानिस संक्रमित छन् । हजारौँले ज्यान गुमाइसकेका छन् । विश्व अर्थतन्त्र करिब–करिब तहसनहस भइसकेको छ । नेपाल पनि कोरोनाको सन्त्रास बिच बाँचिरहेको छ । हालसम्म नेपालमा ३१ जना संक्रमित भेटिएका छन् ।

उत्तरी छिमेकी चीन कोरोना भाइरसको उद्गमस्थल भए पनि नेपाल अहिलेसम्म जोगिएकै छ । दक्षिणी छिमेकी भारतमा संक्रमितको सङ्ख्या बढ्दो छ र यता सारा नेपाली त्रासमा छन् ।

मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन अपिल गरेको छ ।

कोरोनासँग डराउनु नै कोरोना विरुद्धको अभियानमा जित हासिल गर्नु हो भनिन्छ । विश्वको अधिकांश मुलुक लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ । लकडाउनको अर्थ आफैलाई सीमित घेरामा कैद गर्नु हो ।

२४ घण्टामा धेरैमा ६ देखि ८ घण्टा घरमा बिताइन्थ्यो । लकडाउन पश्चात् २४ घण्टा (घर) सीमित क्षेत्रमा कैद हुनु पर्दा पट्यार लाग्दो त छदैछ । तर, सूचना प्रविधिले गर्दा केही हद सम्म समस्या हल गरेको छ ।

लकडाउनका कारण घरको काम, सरसफाइ, अध्ययन, परिवारसँग समय व्यथित गर्न पाउनु खुसीको कुरा पनि हो । जुन लकडाउन अघि विरलै हुन्थ्यो । सूचना प्रविधि मार्फत पुराना साथीहरूसँग सम्बन्ध नवीकरण गर्ने काम भइरहेको छ ।

आफ्नो रुचिको विषय इतिहास र संस्कृति सम्बन्धीका पुस्तक र लेखहरू अध्ययन गर्ने अवसरको रूपमा लकडाउनलाई सदुपयोग गरिरहेको छु । सामाजिक सञ्जाल मार्फत कोरोना भाइरस सम्बन्धी सचेतना, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको कामलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै आफ्नो धारणाहरू व्यक्त गरिरहेको छु ।

यसबिच लकडाउनका कारण काम गरिखाने वर्ग सबै भन्दा बढी मारमा परेका छन्, भोकै बस्नु भन्दा त सहर छाडेर गाउँ जानु ठिक भन्दै सयौँ किलोमिटर हिँडेरै गन्तव्य पुगेका छन् । दैनिक उपभोग्य बस्तुहरूमा कालोबजारी बढेको छ । वैदेशिक रोजगारमा गएका लाखौँ नेपालीको अवस्था त्यति राम्रो सुनिएको छैन, त्यसभन्दा बढी तिनीहरूका अभिभावक यहाँ चिन्तित छन् ।

यी यस्ता समस्या समाधानका लागि राज्य अत्तालिएको जस्तो देखिन्छ । राज्यले धैर्यता पूर्वक समस्या समाधानका निम्ति अग्रसर हुनुको विकल्प छैन । यसका लागि सारा नेपालीले आ–आफ्नो ठाउँबाट राज्यलाई सहयोग गर्न जरुरी छ ।

अजितकुमार धिमाल :-

सहसंयोजक– गोरखापत्र दैनिक, नयाँ नेपाल, धिमाल भाषा पृष्ठ
केन्द्रीय सदस्य– प्रेस नेपाल
प्रधान सम्पादक– धिमाल डट कम

प्रतिक्रिया दिनुहोस्