पथरीशनिश्चरे । किरात राई यायोक्खा पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु पुनः सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । बिहीबार मोरङको पथरीशनिश्चरेमा सम्पन्न संघको चौथो अधिवेशनले खम्बुलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा नूतन राई र सङ्गीता चाम्लिङ, सचिवमा रिता कुलुङ तथा कोषाध्यक्षमा सुजता राई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा तृष्णा कुलुङ, हेन्खामा राई, जीतकुमार राई, शेखर राई, सन्तोष राई र प्रताप राई निर्वाचित भएका छन् ।
अधिवेशनको खुला सत्रमा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव तथा फोनिजका उपाध्यक्ष अर्जुन जेम्मेली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा किरात राई यायोक्खा पत्रकार संघकी उपाध्यक्ष रिता राई, किरात राई यायोक्खा मोरङका उपाध्यक्ष काशीहाङ राई, नेपाल पत्रकार महासंघ मोरङका पूर्वउपाध्यक्ष मोहन भट्टराई लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको बन्द सत्र तथा निर्वाचन प्रक्रिया किरात राई यायोक्खा पत्रकार संघकी उपाध्यक्ष रिता राईको संयोजकत्वमा गठित निर्वाचन मण्डलमार्फत सम्पन्न भएको थियो । निर्वाचन मण्डलमा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव तथा फोनिजका उपाध्यक्ष अर्जुन जेम्मेली, फोनिजका प्रदेश उपाध्यक्ष अर्जुन कुलुङ, किरात राई यायोक्खा मोरङका उपाध्यक्ष काशीहाङ राई र सन्तोष राई सदस्य रहेका थिए ।
पुनः अध्यक्षमा निर्वाचित भएपछि खम्बुले पत्रकार संघलाई थप व्यवस्थित र सक्रिय बनाउँदै किरात राई समुदायसँग सम्बन्धित विषय तथा सवाललाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि, आपसी सहकार्य र संस्थागत एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
त्यसै गरी फोनिजका प्रदेश उपाध्यक्ष अर्जुन कुलुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा मोरङमा क्रियाशील पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


