सुन्दरहरैँचामा भूमि प्रशासन तथा व्यवस्थापन सेवा सुरु


सुन्दरहरैँचा । जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालय धाउनुपर्ने नगरवासीको बाध्यता घटाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाले सोमबारदेखि आफ्नो भूमि व्यवस्थापन शाखामार्फत तोकिएका भूमि प्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

सेवा शुभारम्भको दिनमै नगरपालिकाले पहिलो जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै नयाँ सेवाको सुरुवातलाई व्यवहारमै जोडेको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी र जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले नगरपालिकाबाटै जग्गा खरिद गरेका सेवाग्राही दीपेन्द्र न्यौपानेलाई पहिलो जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेपछि सुन्दरहरैँचामा भूमि प्रशासन सेवाको औपचारिक सुरुवात भएको हो ।

नगरपालिकाका अनुसार अब प्रचलित व्यवस्था र तोकिएको अधिकारक्षेत्रभित्र रहेर जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुनेछन् । यसले सामान्य भूमि प्रशासनसम्बन्धी कामका लागि सेवाग्राहीले अन्य कार्यालयमा पुग्नुपर्ने समय र खर्च घटाउने अपेक्षा गरिएको छ । स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी तोकिएका कार्य सम्पादन गर्ने व्यवस्था मालपोत (नवौँ संशोधन) नियमावली, २०८३ सँग जोडिएको छ ।

सेवा शुभारम्भ गर्दै नगरप्रमुख गुरागाईँले नगरवासीलाई आफ्नै नगरबाट सहज, सरल, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याइएको बताए । नागरिकको सम्पत्तिसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सेवा प्रवाहलाई व्यवस्थित र जिम्मेवार बनाउँदै लैजाने उनले बताए ।

गुरागाईँका अनुसार आफू निर्वाचित भएर आएपछि नगरपालिकाको दोस्रो नगरसभाबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सञ्चालन गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको थियो । लामो तयारीपछि सेवा सञ्चालनमा ल्याउन सफल भएको भन्दै उनले सुरुवाती चरणमा केही प्राविधिक तथा व्यवस्थापकीय कारणले सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने भए पनि क्रमशः सेवा थप छिटोछरितो र प्रभावकारी बनाउँदै लैजाने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वागत मन्तव्य राखेका थिए । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुनु सेवाग्राहीका लागि महत्त्वपूर्ण सहजता भएको बताए ।

कार्यक्रमका क्रममा नगर उपप्रमुख अकली चौधरीले प्रिन्ट गरी तयार पारिएको जग्गाको नाप-नक्सा सेवाग्राहीलाई हस्तान्तरण गरेकी थिइन् । त्यसै गरी नापी कार्यालय मोरङ, विराटनगरका नापी अधिकृत मिथलेस यादव, नापी कार्यालय बेलबारीका प्रमुख सुदर्शनसिंह धामी, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख दीपक कोइराला तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलगायतले स्थानीय तहबाट भूमि प्रशासन तथा व्यवस्थापन सेवा सञ्चालन गर्दा सेवाग्राहीलाई पुग्ने सहजताका विषयमा धारणा राखेका थिए ।

स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनको अभ्यास देशका विभिन्न पालिकामा विस्तार गर्ने नीतिगत तयारीसँगै सुन्दरहरैँचाले पनि आफ्नो भूमि व्यवस्थापन शाखामार्फत सेवा सुरु गरेको हो । यसअघि भूमि प्रशासनका विभिन्न कामका लागि सेवाग्राहीले सम्बन्धित मालपोत तथा नापी कार्यालयमा पुग्नुपर्ने अवस्था थियो । अब नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र पर्ने सेवाहरू स्थानीयस्तरबाटै उपलब्ध गराउने जनाएको छ । स्थानीय तहबाट मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीबारे यसअघि नै सार्वजनिक रूपमा जानकारी दिइएको थियो ।

नगरपालिकाले सेवा प्रवाहलाई पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । भूमि प्रशासन नागरिकको सम्पत्ति र स्वामित्वसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले आवश्यक कागजात, कानुनी प्रक्रिया र तोकिएको मापदण्ड पूरा गरेर मात्र सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

पहिलो जग्गाधनी प्रमाणपुर्जा वितरणसँगै सुरु भएको यो सेवाले सुन्दरहरैँचाका नगरवासीलाई भूमि प्रशासनसम्बन्धी काममा स्थानीय तहसँग प्रत्यक्ष जोडिने नयाँ बाटो खुलेको छ । नगरपालिकाले सेवा सञ्चालनको प्रारम्भिक चरणमा देखिन सक्ने प्राविधिक वा व्यवस्थापकीय कठिनाइलाई क्रमशः सुधार गर्दै सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्