बेलबारी । मोरङको बेलबारी-२ स्थित बागदेवी खेलमैदानमा जारी प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ अन्तर्गत भएको रोमाञ्चक खेलमा डुडामारी भेट्रान फुटबल क्लब झापाले ढल्के जोबन उर्लाबारी भेट्रानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा डुडामारी भेट्रान झापाले उर्लाबारी भेट्रानलाई ५-३ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
खेलमा दुवै टोलीका अनुभवी भेट्रान खेलाडीहरूले सुरुदेखि नै आक्रामक र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए । निर्धारित समयमा दुवै टोलीले समान दुई गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो । बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा डुडामारीले उत्कृष्ट संयम प्रदर्शन गर्दै जित निकाल्यो ।
डुडामारीको जितमा गोलरक्षक रूपक गुरुङको प्रदर्शन महत्त्वपूर्ण रह्यो । पेनाल्टी सुटआउटमा विपक्षीका प्रहार रोक्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए । उनले २३ नम्बरको जर्सी लगाएर खेलेका थिए ।
लालभित्ती भेट्रान फुटबल क्लब बेलबारी-२, मोरङको आयोजनामा असोज १ गतेदेखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका भेट्रान टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


