संकटको समयमा चेतना विकास र योग्यताको गुणस्तर परीक्षण : भाग २


एन.पी. भण्डारी / सुन्दरहरैँचा− १२, मोरङ –

सुरुआतमा –

आजका दिनमा लकडाउन र कोरोना दुई शब्दहरू एकदमै भाइरल भएर चलेका छन् । कोरोनासँगको लडाइमा देश लकडाउनमा छ भनियो भने दुवै शब्दबाट एकै वाक्य बन्छ । सन्दर्भ उही हो, प्रसङ्ग पनि उही । यो समयमा खबरहरू सुखद छँदै छैनन् ।

यो सङ्गठित लडाइको परीक्षणकालीन मैदानबाट क्षितिजमा केही परिवर्तनका उज्यालो देखिन्छ । यस्ता उज्याला पक्षहरू राजनीतिक तथा स्वास्थ्य विकास र शिक्षासँगै जोडिएका छन् । यस खण्डमा उज्यालो उन्मुख राजनीतिक परिक्षणकाल, हाम्रो स्वास्थ्य विकासको दिशा र शैक्षिक योग्यता गुणस्तर परीक्षणलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

विस्तारमा

सङ्कटको समयमा देखिएका उज्याला सङ्केतहरू

क) राजनीतिक मुद्राहरूको एकीकरण र विकास

विश्व महामारीका दुखद घटनाहरूका बाबजुद विकासको प्रवाहको दिशा र क्षेत्रगत विकास हुनेवाला नै छ । दुखद घट्नाका बाबजुद परिवर्तन र उज्यालोका सङ्केतहरू आइरहेको हुनुपर्छ । विकासको प्रवाहको दिशा र क्षेत्रमा प्रगति हुनेवाला नै देखिन्छ ।

सबैको ध्यान स्वास्थ्य तर्फ छ, मानव बाँच्ने कुरातर्फ छ । देशमा राजनीतिक तानातानका कुरा कम सुन्दै छौँ । एक जना साथीले राजनीतिको मिठास लिन हालेको फेसबुकको पोस्ट १० मिनेट भित्र हटाएका छन् । राजनीतिक स्तर उकास्ने कार्यमा यो महामारीको भूमिका रामै देखिन्छ । सञ्चार माध्यमले साथ दिएन भनेको सरकारले अहिले रामै साथ पाएको देखिन्छ । यो राजनीतिक एकता ल्याउन सहयोगी बनेको छ । त्यति मात्र होइन यसपछिका राजनीतिक मुद्दा स्वास्थ्य केन्द्रित हुनेछन् । पार्टीका चुनावी घोषणापत्रमा जनस्वास्थ्यको मुद्दा प्रमुख हुनेछ । यसरी राजनीतिक मुद्दा एकीकृत हुने सम्भावना बढ्दै गएको छ ।

यो घटनाले देशभित्र राजनीतिक मुद्दालाई एकीकृत गराउनमा सहयोगी बनेको छ भने राजनीति स्वास्थ्य विषय शिक्षा थपिएको हुनुपर्छ । विश्वराजनीतिमा पनि परिवर्तन हुने सङ्केत देखिँदै छन् । विकासको सीमा नाघेर अव विकास भन्दा पर के गर्ने भनेर सोचिरहेका, अव हामी प्रकृतिको बन्धनमा छैनौ, भौतिक स्वतन्त्रताको उच्च उपयोग गएका छौँ, प्रजातन्त्रले दिएको स्वतन्त्रतामा कसैले रोक्नु हुँदैन भन्दै गरेका युरोप र अमेरिकाका मानिसमा पनि लकडाउनको प्रतिबन्ध लागेको छ । त्यसैले आगामी राजनीति र विकासको प्रवृत्ति पनि फरक हुने महसुस गरिँदै छ । तर पनि हामी सबै सङ्कटमा छौँ त्यसैले परिक्षणकालमा छौँ ।

ख) स्वास्थ्य सेवा विकास

हाम्रो अवस्था हेर्दा यो महामारीको चपेटाबाट उम्कन कठिन त छ नै तर महामारीको यो युद्धमा विजय प्राप्त गर्न सकेको अवस्थामा हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली अब्बल प्रमाणित हुने उज्यालो दृश्य अगाडि छ । यसले नेपालको शैक्षिक तथा स्वास्थ्य स्तर अरूले आकलन गरेको जस्तो कमजोर नभएको प्रमाणित गर्नेछ र हामी विश्वको मापदण्डमा अगाडि उभिएका हुनेछौँ ।

भौतिक रूपमा नै यो युद्धपछि अहिलेका क्वारेन्टाइन स्थल र आइसोलेसनका कक्षहरू मेडिकल अभ्यासको दिशामा अवश्य जानेछन् र नेपालमा स्वास्थ्य प्रणालीको विकास तीव्र गतिमा हुनेछ । बाध्यतामै परेर भए पनि सरकारले अन्यत्रको बजेट कटौती गरी जनस्वास्थ्य प्रवर्द्धन तर्फ ल्याउने प्रयास गरिरहेको छ । सरकारलाई कोरोनाले सिकाएको यो जबरजस्त पाठ हो । यसपछि बन्ने सरकारले अब स्वास्थ्य सेवा लगानीमा कटौती गर्न सक्ने छैनन् ।

बाध्यताकै ढोकाबाट भए पनि जनस्वास्थ्य विकासमा अव नेपाल र नेपालजस्ता मुलुकको कदम बढ्ने सम्भावना नै देखिन्छ । कमसेकम पनि नेपालमा हिजो र आजको भन्दा भोलि निकै सुधार अवश्य हुनेछ ।

ग) स्वास्थ्य चेतना विकास

चेतना र अभ्यासको नजरबाट हेर्दा पिडाकै बिचबाट पनि जनमानसमा चेतना निकै अभिवृद्धि भइसकेको छ । आफू सचेत हुँदै अरूलाई पनि सचेत गराउनु भनेर मैले मेरा एक जना आफन्तलाई फोन गर्दा उहाँले मलाई नै सचेत गराएको देखेर म चकित परेँ । यो चेतनामा आएको परिवर्तनको स्तरलाई कमजोर मान्न मिल्दैन । गाउँघरमा कम्तीमा पनि मानिसले राम्ररी पटक पटक साबुन पानीले हात धुन थालेका छन्, सानीटाइजरको जोहो र प्रयोग गर्न सिकीसकेका छन् । सेनीटाइजरको नाम नै मैले भरखरै सुनेको र मैले पनि भर्खर मात्र प्रयोग गर्न सुरु गरेको छु ।

मानिसले यसको खोजी र प्रयोग गर्न थालिसकेका छन् । यो व्यावहारिक परिवर्तन ठुलो कुरा हो र जनस्वास्थ्य स्तरको विकास हो । हामी खानपिनमा पनि निकै विचार पुर्‍याउन थालेका छौँ । डाक्टरका अन्तर्वार्ता कमै हेरिन्थे र सुनिन्थे । अहिले सामाजिक सञ्जालमा डाक्टरका अन्तर्वार्ता नै भाइरल भएका छन् । बालबच्चाहरूमा समेत यसको प्रभाव परेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने एकै पटक तीन पुस्ताले स्वास्थ्य शिक्षा पाएका छन् त्यो पनि व्यावहारिक । यसरी हेर्दा नेपाल र नेपालजस्ता स्वास्थ्य प्रणाली कमजोर मानिएका, स्वास्थ्य चेतना र अभ्यासको कमी भएको भनिएका देशको स्तर वृद्धि भइरहेको छ ।

अहिले वृद्धि भएको चेतना स्तरका लागि कति खर्च आवश्यक पर्ने थियो होला रु तर त्यो प्राप्त भएको छ । यस अघि सुस्त गतिमा हुने सरकारको लगानीको परिणामलाई अहिलेको स्वास्थ्य चेतनासँग तुलना गर्दा हताश हुनुपर्ने देखिँदैन तर सङ्कटको लडाइ भने जित्नुपर्ने छ । यस अर्थमा यो सङ्कट पनि अवसर समेत बनेको छ । बरु सरकारको प्रमुख दायित्व नै जनस्वास्थ्य भएको वेलामा सरकारले कहीँ कञ्जुस्याईँ नगरे हुन्थ्यो जस्तो लाग्छ । सरकारलाई मेरो सल्लाह छ की तपाईँका प्रमुख सल्लाहकार यो बेला डाक्टर हुनुप¥यो । डाक्टरको सल्लाह बमोजिम हुबहु गर्नु प¥यो । जनताले ज्वरो आउँदा डाक्टरले नहेर्ने अवस्था हुनभएन ।

स्वास्थ्य सेवाका लागि स्वास्थ्य विशेषज्ञको सुझाव सहर्ष स्विकार्न सक्नुभयो भने तपाईँको भविष्य पनि उज्ज्वल छ । सरकारले बोल्ड कदम चाल्ने हो भने पैसाको कमी हुने छैन । बरु देशको समग्र स्वास्थ्य विकासको अर्को चक्रमा लैजान सकिने सुखद चित्र अगाडि छ । सामर्थ्यका हिसाबले कमजोर भए पनि हामी नेपाली कमजोर छैनौँ । हामीमा एकताको बल पनि छ । सरकारलाई प्रतिपक्षले पनि साथ दिएकै छ, सकेजती रुपैयाँ कबोलेको पनि छ । सबै मानिस सरकारका सही कामलाई सहयोग गर्न तयार भएका छन् । यो पनि बहुत ठुलो कुरा हो । आवश्यक परे सबै नेपाली गाँस काट्न पनि तयार देखिन्छन् ।

घ)  शिक्षाको उद्देश्य, गुणस्तर परीक्षण र जिम्मेवारी

सरकारले अहिले केवल एक मात्र सहयोगको याचना गरिरहेको छ त्यो हो “घरमै बसिदिनु पर्‍यो ” । यो नै महामारीसँगको युद्ध जित्ने एक मात्र र उत्तम हतियार हो भन्ने कुरा सारा संसारले भनेको भन्यै छ । सबै एकै उद्देश्यमा केन्द्रित भएको बेला हो भन्ने सबैले बुझ्न जरुरी भयो । त्यसैले यो समयमा नेपालको शिक्षाको राष्ट्रिय उद्देश्य परिवर्तन भएको छ । त्यो हो “ जनतालाई घरमै बस्ने बनाउनु घरबाट बाहिर निस्कन नखोज्ने बनाउनु अर्थात् लकडाउनको पालना गर्न सक्ने बनाउनु” हो ।

कक्षागत उद्देश्य पनि त्यही हो, तहगत उद्देश्य पनि त्यही हो । विद्यालय शिक्षाको उद्देश्य र विश्वविद्यालय शिक्षाको उद्देश्य पनि त्यही हो । लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षाका प्रश्नको उत्तर घरै बसेको प्रमाणित गर्नु हो । हामीले यसअघि लिएका जुनसुकै तह र स्तरका शैक्षिक प्रमाणपत्रहरू भए पनि नवीकरणको परीक्षामा सहभागी हुनपर्छ । नवीकरणको परीक्षाको प्रश्न उही हो र उत्तर पनि घरै बसेको प्रमाणित गर्नु नै हो । पी.एच.डी को प्रश्नको उत्तर उही हो र नर्सरीको बालकले दिने प्रश्नको उत्तर उही हो ।

हामी सबै नेपालीले लकडाउनको आदेशलाई उच्च पालना गर्दै महामारीमाथि विजय हासिल भयो भने नेपालीलाई विश्वविद्यालयले दिने सर्टिफिकेट स्वस्थ्यताको हुनेछ र साथमा सबैथोक । सुनिँदै छ की इटालीमा सरकारले र विश्व स्वास्थ्य सङ्गठनले जनतालाई घरै बस्नु भनेको थियो तर उक्त आदेशलाई जनताले पालना गरेनन् वा अवज्ञा गरे । यो अवज्ञाले उनीहरूलाई महाविपत्ति तर्फ धकेलेको छ । कहाँ र कुन अवस्थामा पूर्ण विराम लाग्ने हो उनीहरूलाई थाहा छैन । यदि त्यही कुरा सही हो भने सरकारको आदेश र विश्व स्वास्थ्य सङ्गठनको सूचना अवज्ञा गर्ने त्यहाँका मानिसको शैक्षिक प्रमाणपत्र गुणस्तरीय नभएको मान्नुपर्छ । विकसित भनिएको शिक्षा प्रणालीले र अब्बल भनिएका विश्वविद्यालयले मानिसलाई अनुशासनको पाठ राम्रोसँग सिकाएको देखिएन । त्यहाँ मानिस न साक्षर देखिए न शिक्षित । इटालियन, स्पेनिस र अमेरिकीले दिएको र लिएको शिक्षाको गुणस्तर हाम्रो शङ्काको घेरामा परेको छ भने हामीले पनि यो समयमा हाम्रो शैक्षिक प्रमाणपत्रहरूलाई र शिक्षाको गुणस्तरलाई परीक्षणको तराजुमा राखेका छौँ ।

अन्त्यमा,

सङ्कटको यो समयमा महाविश्वविद्यालयले तपाईँ हाम्रो परीक्षा लिइरहेको छ । हाम्रा विश्वविद्यालयहरू पनि उही परीक्षामा सामेल छन् । प्रश्नपत्र हातमा छ भनेर मानौँ । निरीक्षक आफैँ हो भन्ने ठानौँ । तपाईँ हाम्रो घर नै परीक्षा हल हो । बाहिर निस्कनु भयो भने, ३ फिटको अन्तरमा बस्नु भएन भने, साबुन पानीले हात मिचिमिची पटक पटक हात धुनु भएन भने तपाईँको परीक्षा रद्द भएर बर्षौसम्म त के फेरी कहिल्यै परीक्षा दिन नपाउने गरी निकालिनु हुनेछ ।

सम्भावना त यति धेरै छ कि तपाईँको प्रश्नपत्र बाहिरिँदा सबैको परीक्षा रद्द हुन्छ । सबैको असफलता हुन्छ । यति ठुलो जोखिम उठाउन तपाईँ अवश्य बाहिर जानुहुने छैन भन्ने विश्वासमा सरकार छ । लकडाउनको पालना गरेर तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बसेर सरकारलाई सघाउनु पर्छ । आफू बच्दै अरूलाई पनि बचाउनु पर्छ । यो परीक्षामा तपाईँ हामी सबै सफल हुनैँपर्छ । यो बाध्यता हो । यदि घरमा बसेर सरकारलाई सघाउने र महामारी भगाउने युद्धमा सफलता हात पार्न सकियो भने एक पटक युरोपेली र अमेरिकी स्वास्थ्य र शिक्षाको स्तरलाई हामीले उछिनेका हुने छौँ । हाम्रा हातमा दुई सफलताको सर्टिफिकेट हुनेछन् । १० तपार्ईँ  स्वस्थ हुनुहुन्छ र २० तपाईँ शिक्षित हुनुहुन्छ ।

सरकारको अनुरोधको अनुसरण गर्ने नैतिक अनुशासनकै बलमा नेपालले दाबी प्रस्तुत गर्नु छ कि नेपाली स्वस्थ छौँ, हामी शिक्षित पनि छौँ । विकास सूचकाङ्कको स्तर त्यसैले बढाउने छ । हामीले हाम्रो शिक्षा कमजोर छ भनेर नाक खुम्च्याउनु पर्ने छैन । यो सुखद चित्र हाम्रो सामुमा छ । यो परीक्षामा हामी सबै सामेल छौँ । त्यसैले विनम्र अनुरोध छ यो बेलामा सबै जना घरै बसौँ, आफू बचौँ अरूलाई पनि बचाउन सकौँ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्