‘नेपाल भ्रमण वर्ष २०२०’ को भव्य रूपमा उद्घाटन (पर्यटनमन्त्री भट्टराईको मन्तव्यको पूर्ण पाठसहित)


काठमाडौँ, १४ पुस । ‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी १ (पुस १६ गते) भव्य रूपमा उद्घाटन हुने भएको छ । उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यानमारलगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रूपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन् ।

भ्रमण वर्षको तयारीबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । जनवरी १ अर्थात् पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम सुरु हुने उनले जानकारी दिए । उद्घाटन समारोहमा सामाजिक सङ्घ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने उनले बताए ।

संयोजक वैद्यले दशरथ रङ्गशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधारण तथा आगन्तुकलाई ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने बताएका छन् । भिभिआइपी भने ४ बजे उपस्थित हुने उनले जानकारी दिए । त्यसपछि ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ ।

कार्यक्रममा नेपाली सांस्कृतिक झाँकीसहित राष्ट्रिय कलाकारमार्फत साङ्गीतिक कार्यक्रम समेत छ । त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ । यसबाहेक बुधवार काठमाडौँसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उद्घाटन हुनेछ ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष कुनै मन्त्रालयको मात्र कार्यक्रम नभई समग्र नेपालको कार्यक्रम भएकाले सबैले उत्सवको रूपमा मनाउन आग्रह गरेका छन् । ‘सिङ्गो देश भ्रमण वर्षको आयोजक हो । सबै क्षेत्र यसका आयोजक हुन्’ उनले भने ‘भ्रमण वर्षले नेपाल स्थिर, शान्ति र समृद्धिको बाटोमा अघि बढेको सन्देश विश्वमा जान्छ ।’

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीको सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालयले १४ पुस २०७६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिएको मन्तव्यको पूर्ण पाठ :

सञ्चारकर्मी साथीहरू,

१) हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको पूर्व सन्ध्यामा आज यो पत्रकार सम्मेलन गरिरहेका छौँ । म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । तपाईँहरू सबैलाई नयाँ वर्ष–२०२० को शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँहरूलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौँको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदै छ । ठिक त्यही दिन सातै वटा प्रदेशहरूमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ ।

यहाँहरूलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिए । यसबिचमा अनेकौँ छलफल र बैठकहरू सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी सङ्घ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरूसँग छलफल गरेका गर्‍यौँ । निजी क्षेत्र, गैरसरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौँ क्षेत्रहरूसँग हामीले छलफल गर्‍यौँ ।

२) यहाँहरूलाई थाहा छ, सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरू २० लाख पर्यटक कसरी भित्र्याउने ? केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ ?

के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरू कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ ।

हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । हरेक नेपालीहरूलाई यो अभियानमा जागरूक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरिका लगानीकर्ताहरूलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।

३) सङ्ख्या त छँदै छ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगामी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हुँदै जानेछ ।

आजसम्मका अनेकौँ छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप ऊर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरूसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रूपमा लैजानुपर्नेमा उहाँहरूको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यवस्थापक मात्रै हो, सिङ्गो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरू, गैरसरकारी संस्थाहरू सबै आयोजक हुन् ।

४) हामीले १८ मङ्सिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका छौँ । महामहिम राजदूतहरूले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुसी व्यक्त गर्नु भएको छ । हामीले भनेको सङ्ख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धिमूलक ठानेका छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौँ संस्थाहरू पनि छलफल गरेका छौँ ।

५ सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको दिन सबैलाई देश भरी दिवापली गरेर स्वागत गर्न आह्वान गरेको छ । सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेश स्थित कूटनीति नियोगका कार्यालहरुमा सबैले दिपवाली गर्नुहुनेछ । त्यो दीपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईँहरू मार्फत आम जनसमुदायलाई अपिल गर्न चाहन्छु, त्यो दिन सबैले दीपावली गरौँ । र, दुनियाँलाई भनौँ, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’

६) ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुसीको विषय हो, नेपाली सञ्चार क्षेत्र र तपाई सञ्चारकर्मीहरुले महत्त्वपूर्ण भूमिका । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रूपमा लिएर तपाईँहरूले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसा योग्य छ । देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभूतपूर्व एकता र सहयोग देखिएको छ ।

पर्यटनलाई नेपालको आर्थिक विकासको महत्त्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ । २०२० देखि २०३० लाई पर्यटन दशकको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरूको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।

७) ‘नेपाल भ्रमण वर्ष–२०२०’को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधवार) दशरथ रंगशालामा सम्माननीय सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति ज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरू, विभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरु, सङ्घीय सरकारका माननीय मन्त्रीज्यूहरू, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरू, संवैधानिक निकायका प्रमुखज्यूहरू कूटनीतिक नियोगका प्रमुखज्यूहरू, विदेशी नियोगका प्रमुखज्यूहरू, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरू उपस्थिति रहनेछ ।

शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घ संस्थाहरू, सामाजिक क्षेत्र, स्वयंसेवी समूह–सङ्गठन, सामाजिक सङ्घ संस्थाहरूको ब्यानर र पोसाक सहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ । नेपालको ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुतिहरू रहनेछन् ।

८) अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । पर्यटनमा गुणस्तरताक, बजारीकरण र ब्राण्डिङ्ग हाम्रो प्राथमिकता हो । मानव संसाधनको विकास, संस्कृति सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएका छौँ । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै हामी यी कामहरूलाई अघि लैजानेछौँ । यो यात्रामा तपाई हामीसँगै र साथै रहनेछौँ ।

९) ‘नेपाल भ्रमण वर्ष–२०२०’को तयारीको सन्दर्भमा सहयोग पुर्‍याउने विभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरूप्रति म आभार प्रकट गर्दछु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयलाई धन्यवाद भन्न चाहन्छु । विभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घ, सङ्गठन, पर्यटन व्यवसायीहरू, निजी क्षेत्रसँग सम्बद्ध सङ्घ संस्थाहरू, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक सङ्घ–सङ्गठन, स्वयंसेवी संस्थाहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । साथै आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गर्दछु ।

धन्यवाद !

प्रतिक्रिया दिनुहोस्