भारतलाई मात दिँदै नेपाल विजयी : सावित्रा भण्डारीको ‘डबल’मा ऐतिहासिक जित


काठमाडौँ । नेपाली महिला फुटबलले पुनः गौरव हासिल गरेको छ। त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। सोमबार शिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा सम्पन्न खेलमा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले दुवै गोल गर्दै नेपालको जीत सुनिश्चित गराइन्।

खेलको सुरुवाती क्षणमै नेपालले आफ्नो उपस्थिति जोर्जिलो बनाएको थियो। दोस्रो मिनेटमै साम्बाले विपक्षीको गोलपोस्टमा बल भिर्काउँदैं नेपाललाई अग्रता दिलाइन्। खेलको दोस्रो हाफमा पनि उनले आफ्नो फायरिङ फर्म कायम राख्दै ६३औँ मिनेटमा सिधा प्रहार गरेको फ्रिकिक गोलमा परिणत गरिन्। भारतीय गोलकिपरले त्यो प्रहार रोक्न असमर्थ रहिन्।

भारतले ८१औँ मिनेटमा करिश्मा सिरभोकरमार्फत एक गोल फर्काए पनि, त्यसले परिणाममा कुनै परिवर्तन गर्न सकेन। नेपालले खेलभर उत्कृष्ट तालमेल, दृढ बचाउ र आक्रामक आक्रमण देखाउँदै घरेलु टोलीलाई दबाबमा राख्यो।

यद्यपि प्रतियोगिताको उपाधि इरानले हात पारेको छ, जसले भारतलाई २-० र नेपाललाई ३-० ले हराएको थियो । तर नेपालले आजको जितमार्फत प्रतिष्ठा पुनः कायम गरेको छ।

यो जित नेपाली महिला फुटबलका लागि विशेष बनेको छ, किनकि नेपालले पछिल्ला वर्षहरूमा भारतविरुद्ध लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई हराएको नेपालको यो दोस्रो बाह्य जित हो।

त्यस्तै, काठमाडौँमा सन् २०२२ र २०२४ मा सम्पन्न साफ महिला च्याम्पियनसिप मा पनि नेपालले भारतमाथि विजय हासिल गरेको थियो। यससँगै पछिल्ला पाँच खेलमा नेपाल भारतविरुद्ध अपराजित बनेको छ।

प्रतिक्रिया दिनुहोस्