मोरङका तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ प्रकाशित


मोरङ । मोरङका दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित ‘नेपालको बैङ्किङ इतिहास’ नामक कृति प्रकाशित भएको छ । तिम्सिनाको १३ औँ कृतिका रूपमा यो पुस्तक हालसालै बजारमा आएको हो ।


पथरीशनिश्चरे–१, मोरङ निवासी लेखक तथा खोजकर्ता लेखक तिम्सिनाले यस पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणकालदेखि वर्तमान सम्मको बैङ्किङ अभिलेख आदि समेटिएको छ । पुस्तकमा नेपालका ‘क’ र ‘ख’ श्रेणीका बैङ्कहरूको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसमेत १८ जना गभर्नरको फोटो सहितको जीवनी समेटिएको छ । त्यस्तै यसमा नेपाली बैङ्क मर्जरको इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बिके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाश चन्द्र लोहनी सहितको इतिहास तथा द्वन्द्वकलामा बैङ्कमा भएको आक्रमण आदि विषयलाई अध्ययन गरिएको छ ।

७२ पेजमा अनुबन्धित यस पुस्तकमा कुन कुन बैङ्क कहिले स्थापना भए भन्नेदेखि लिएर समस्या ग्रस्त बैङ्कहरू, भोजपुरको टक्सारको इतिहास , पूर्वमा खुलेका बैङ्कहरु, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहङ् लगायतका विभिन्न ५१ ओटा विषयहरू समेटिएको पाइन्छ ।

विगत एक दशकदेखि कलम चलाउँदै आएका लेखक तिम्सिनाका टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) मोरङका जनप्रतिनिधि संङगालो (२०७९) ‘माइखोलादेखि पुनर्वाससम्म’ (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची (२०८१) गरी १३ ओटा कृति प्रकाशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्