विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा फरार चालक १६ दिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका-३, सिद्राहा झोसटोलका २६ वर्षीय अभिषेककुमार माझीलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०८३ असोज २४ गते साँझ करिब ७ बजे ग्रामथान गाउँपालिका-५ स्थित तेतरिया चोकको विराटचोक-घिनाघाट सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय नरमाया त्रिताललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी ७० वर्षीया त्रितालको उपचारका क्रममा असोज २५ गते बिहान करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि चालक मोटरसाइकलसहित फरार भएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी तेतरियाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको दृश्यका आधारमा प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान गरेको जनाएको छ ।
प्रहरीका अनुसार को ३९ प ३४६ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा प्रयोग भएको खुलेपछि खोजतलास गरिएको थियो। सोही क्रममा कात्तिक ९ गते दिउँसो करिब ३:३० बजे माझीलाई उनकै घरबाट पक्राउ गरिएको हो। प्रहरीले मोटरसाइकलका विभिन्न भाग फुटेको र कुच्चिएको अवस्थामा फेला पारेको जनाएको छ ।
पक्राउ परेका माझीलाई मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।


