बेलबारी । मोरङको बेलबारी नगरपालिका-६, सोमबारेस्थित सडकखण्डबाट ३० किलो ९९० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले मोटरसाइकलमा सवार धनकुटाको चौबिसे गाउँपालिका-७ का दुई जनालाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ११ गते बिहान करिब ४ बजे सोमबारेस्थित सडकमा अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको टोलीले शङ्काका आधारमा प्रदेश १-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकल चालक ३५ वर्षीय आइतबहादुर राई र पछाडि सवार सन्देश परियारको साथबाट उक्त परिमाणको गाँजा तथा नेपाली नगद ६३ हजार ५०५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा, नगद र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका दुवै जना धनकुटाको चौबिसे गाउँपालिका-७ का बासिन्दा रहेको उल्लेख छ ।


