काठमाडौं । गत वर्ष दर्शकमाझ लोकप्रिय बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को दोस्रो शृङ्खला ‘कलेजी-ऊनको स्वीटर’को छायाङ्कन भारतको सिक्किमस्थित सुन्दर युमथाङ उपत्यकाबाट सुरु भएको छ । निर्देशक नवीन चौहानले स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त गरी चलचित्रको छायाङ्कन सुरु गरेका हुन् ।
छायाङ्कनको पहिलो दिन भारतीय अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको निर्देशक चौहानले जानकारी दिएका छन् । छायाङ्कन शुभारम्भ कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो ।
आर्टमाण्डुको निर्माणमा बन्न लागेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन् । ‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा विस्तार गर्ने उद्देश्यसहित नयाँ चलचित्र निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन् ।
‘कलेजी-ऊनको स्वीटर’मा काफ्ले, फूल, डम्बर र ईक्षाका कथालाई अघि बढाउँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाङ्कन नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम र दिल्लीमा गर्ने योजना छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ । अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायाङ्कनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन् । चलचित्रमा कोविद बज्रको सङ्गीत रहनेछ ।
निर्देशक चौहानका अनुसार ‘कलेजी-ऊनको स्वीटर’ अघिल्लो चलचित्रले स्थापित गरेको भावनात्मक संसारलाई नयाँ परिवेश र कथामार्फत अघि बढाउने प्रयास हो। चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । निर्माण पक्षले सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखेको यस चलचित्रले अघिल्लो भागका पात्रहरूको कथा कसरी अघि बढाउँछ भन्ने दर्शकमाझ चासो बढाएको छ ।


