लेटाङ प्रहरी हिरासत पुस्तकालयमा २९२ पुस्तक : ‘थुनुवाहरूलाई हात-हातमा किताब’ अभियान प्रभावकारी बन्दै


लेटाङ । हिरासतमा रहेका व्यक्तिहरूलाई अध्ययनको अवसर उपलब्ध गराउँदै उनीहरूको सोच, आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मोरङको इलाका प्रहरी कार्यालय, लेटाङले सञ्चालन गरेको ‘थुनुवाहरूलाई हात-हातमा किताब’ अभियानअन्तर्गत २९२ थान पुस्तक सङ्कलन भएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सागर शाहका अनुसार हिरासत कक्षमै स्थापना गरिएको पुस्तकालयका लागि पूर्वजनप्रतिनिधि, विभिन्न व्यक्तित्व, संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा सञ्चारकर्मीहरूले पुस्तक सहयोग गरेका हुन् । पुस्तकालयमार्फत हिरासतमा रहेका व्यक्तिहरूलाई फुर्सदको समय सदुपयोग गर्दै ज्ञान आर्जन, आत्मचिन्तन र सकारात्मक सोच विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ ।

अभियानअन्तर्गत सबैभन्दा बढी पूर्वसांसद घनश्याम खतिवडाले ६२ थान र पूर्वमन्त्री उपेन्द्र घिमिरेले ४३ थान पुस्तक सहयोग गरेका छन् । त्यस्तै, खगेन्द्र घिमिरेले २७, श्यामकुमार श्रेष्ठले २२, पूर्वी पृतना तालिम शिक्षालय, लेटाङका प्रमुख सेनानी सुरज कार्कीले १६ र लेटाङका सञ्चारकर्मीहरूले संयुक्त रूपमा १६ थान पुस्तक उपलब्ध गराएका छन् ।

यसै गरी, एडभान्स हस्पिटलका सञ्चालक ईश्वर शाक्यले १५, सावधान युवा समूहले १४, पूर्वनगरप्रमुख शंकर राई, शान्ति प्राख्रिन लामा र विद्यादेवी लामिछानेले ११-११ थान पुस्तक सहयोग गरेका छन् ।

लिटल फ्लावर्स बोर्डिङ स्कुल र शुभकामना हस्पिटलका सञ्चालक सुनिल चौधरीले १०-१०, सीता श्रेष्ठले आठ, भक्तबहादुर सुवेदीले सात, नन्दप्रसाद खतिवडाले छ, ललितबहादुर लिम्बूले दुई र शान्तिकला राईले एक थान पुस्तक प्रदान गरेका छन् ।

हिरासतमा रहेका व्यक्तिहरूलाई पुस्तक पढ्ने अवसर उपलब्ध गराउँदा उनीहरूको समय उपयोगी बन्नुका साथै ज्ञान, नैतिक चेतना र सकारात्मक सोच विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुस्तकालयले हिरासत बसाइलाई अध्ययन र आत्मसुधारको अवसरका रूपमा उपयोग गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था र सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको छ । कार्यालयले पुस्तकलाई ज्ञान प्राप्त गर्ने माध्यमका साथै सुधार, आशा, प्रेरणा र सकारात्मक परिवर्तनको आधारका रूपमा लिएको जनाएको छ ।

‘पुस्तकले सोच बदल्छ, सोचले व्यवहार बदल्छ’ भन्ने सन्देशसहित अघि बढाइएको यस अभियानले हिरासतमा रहेका व्यक्तिहरूमा पठन संस्कृतिको विकास गर्न र उनीहरूलाई सकारात्मक जीवनतर्फ प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्