काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले शुक्रबार महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन् ।
जाहेरीमा ओलीकै निर्देशनमा सुरक्षाकर्मीहरूले गोली चलाएको दाबी गरिएको छ । सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै जना घाइते भएको उल्लेख गरिएको छ ।
मृतकहरूको सूचीमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश छ ।
शाहले दर्ता गरेको जाहेरीमा गोलीकाण्डलाई योजनाबद्ध हत्या करार गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरिएको छ ।