कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई : अन्तरिम सरकारलाई सफल बनाउन सबैको सहयोगको आह्वान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’ अभियानका अभियन्ता कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सफल बनाउन सबै पक्षले हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत कार्कीलाई बधाई दिँदै घिसिङले मुलुक अहिले अत्यन्त संवेदनशील मोडमा रहेको उल्लेख गर्दै संकट समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, “सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु। देश अहिले गम्भीर मोडमा उभिएको छ। मुलुक र जनताको हितका लागि हामी सबै मिलेर सहयोग गरी अघि बढ्नुपर्छ।”

घिसिङले विशेषगरी जेन-जी आन्दोलनका मागहरूलाई सम्बोधन गर्दै समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो दायित्व हुने पनि स्पष्ट पारेका छन्। उनका अनुसार, आन्दोलनले देखाएको बाटो र आकांक्षालाई पूरा नगरेसम्म मुलुक स्थायित्वतर्फ अघि बढ्न सक्दैन ।

शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै उनको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेका थिए। नयाँ निर्वाचन आगामी फागुन २१ गते गर्ने निर्णय भइसकेको छ।

घिसिङले कार्कीलाई सफलता प्राप्त होस् भन्दै आफ्नो शुभकामना प्रकट गर्दै मुलुकको चुनौतीपूर्ण घडीमा सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्