काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयप्रति गम्भीर असहमति प्रकट गरेका छन्। पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार प्रचण्डको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले मुलुकको विद्यमान परिस्थितिबारे विस्तृत छलफल गर्दै प्रतिनिधिसभा विघटनलाई संविधान विपरीतको कदमका रूपमा लिएको छ।
विज्ञप्तिमा भनिएको छ, “मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक बसेको थियो। बैठकले संवैधानिक व्यवस्था विपरीत प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहने निष्कर्ष निकालेको छ।”