काठमाडौं । २०८२ साल भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीको ठूलो मार खेपेको नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले सार्वजनिक आग्रह गरेका छन्।
दुलालले विज्ञप्ति जारी गर्दै आन्दोलनकै क्रममा होटलमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले आफ्नो परिवारलाई ठूलो पीडा पुर्याएको उल्लेख गरेका छन्। उनले वर्षौंको मेहनत, पसिना र सपनाबाट बनेको होटल एकै क्षणमा खरानीमा परिणत भएको दुखद अनुभव बाँडे।
“हामीले ठूलो क्षति व्यहोरेका छौँ तर हाम्रो संकल्प अझ मजबुत भएको छ। भवनहरू जल्न सक्छन्, तर सपना, आशा र भविष्य जल्दैनन्,” विज्ञप्तिमा दुलालले भनेका छन्।
उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले सो दिनको कुनै पनि तस्वीर वा भिडियो उपलब्ध भएमा इमेल [email protected] वा व्हाट्सएप नम्बर ९८५२०५७८१५ मा पठाइदिन आग्रह गरेका छन्।
दुलालका अनुसार नेपालीरिका होटल अझ सशक्त भएर पुनः उठ्नेछ र यात्रालाई रोक्ने कुनै शक्ति नरहेको स्पष्ट सन्देश दिएका छन्।