संसद् विघटन असंवैधानिक : आठ दलका प्रमुख सचेतकहरूको संयुक्त विज्ञप्ति


काठमाडौं । प्रमुख ८ राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । शनिवार जारी गरिएको विज्ञप्तिमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका प्रमुख सचेतकहरूले भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको संसद् विघटनसम्बन्धी निर्णय असंवैधानिक भएको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते राति राष्ट्रपति कार्यालयबाट जारी भएको संसद् विघटनसम्बन्धी सूचना नेपालको संविधान, सर्वोच्च अदालतको नजिर र संवैधानिक परम्पराविपरीत छ। जननिर्वाचित संस्थामाथि गरिएको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक सर्वोच्चतालाई कमजोर पार्ने कार्य भएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

सचेतकहरूले संविधान र कानुनी व्यवस्थाले नै समस्याको समाधान दिने स्पष्ट प्रावधान रहेको बताउँदै प्रतिनिधि सभा विघटनको निर्णय तत्काल खारेज गरी संसद्को बैठक बोलाउन माग गरेका छन् । उनीहरूले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

यसैबिच, विज्ञप्तिमार्फत आठ दलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्