काठमाडौं । शिक्षकले विगत २९ दिनदेखि जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिविद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् ।
यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालयहरू भोलिदेखि खुल्ने भएका छन् । ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गरी सम्बोधन हुने केही मागहरू समेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हडताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौँ । आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासङ्घ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बाध्य हुने सहमति पत्रमा उल्लेख छ ।
१५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता
सरकार र आन्दोलनरत शिक्षकहरूबिच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ । गत २० चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासीन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो ।
सहमति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूको आन्दोलनको एक मात्र मुख्य माग विद्यालय शिक्षा ऐन जारी गराउनु रहेको भन्दै त्यसका निम्ति २९ दिनदेखि आन्दोलित भए पनि तत्कालै ऐन जारी हुने अवस्था नरहेको तर राजनीतिक दलहरूको तर्फबाट १५ असारभित्र ऐन जारी हुने लिखित प्रतिबद्धता आएकाले सम्झौता गरिएको बताए । शिक्षा समितिका सभापति र काँग्रेस तथा एमालेका प्रमुख सचेतकले ऐन निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।