बेलबारी । मोरङको बेलबारी-२ स्थित बागदेवी खेलमैदानमा जारी प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ अन्तर्गत बिहीबार भएको खेलमा दमक भेट्रान झापाले आयोजक लालभित्ती भेट्रानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा दमक भेट्रानका तर्फबाट भएको एक मात्र गोल निर्णायक बनेपछि लालभित्ती भेट्रान प्रतियोगिताबाट बाहिरिएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमक भेट्रानका जर्सी नम्बर ११ का प्रवेश कटुवाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

यससँगै दमक भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अर्को सेमिफाइनलबाट डुडामारी भेट्रान फुटबल क्लब झापा पनि फाइनलमा पुगेको छ । डुडामारीले ढल्के जोबन उर्लाबारी भेट्रानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

लालभित्ती भेट्रान फुटबल क्लब बेलबारी-२ को आयोजनामा असोज १ गतेदेखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका भेट्रान टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अब उपाधिका लागि दमक भेट्रान झापा र डुडामारी भेट्रान फुटबल क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ ।


(लालभित्ती भेट्रान)


