“संविधान राम्रो भएर मात्र हुँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ”: प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालको संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने राज्यका संयन्त्र र नेतृत्व इमानदार तथा निरन्तर सक्रिय हुन नसके संविधान कागजमा मात्र सीमित हुने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा शनिवार काठमाडौँको टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहले संविधानले विविधताबिचको एकता, विभेद र असमानताको अन्त्य, विकास, समृद्धि तथा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको वाचा गरेको उल्लेख गरे । प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई कुनै सर्त नभई राष्ट्रिय जीवनका आधारका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको स्वीकार गर्दै त्यस विरुद्ध काम गर्ने हातहरू अहिले अझ बलिया र धेरै रहेको बताए । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्ग भएको उल्लेख गर्दै उनले सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्तिको नीति अघि बढाएको दाबी गरे ।

उनले ‘सुशासन नारा होइन, काम हो’ भन्दै सरकार त्यसतर्फ काम गरिरहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्रिय विकासको साझा उद्देश्य हासिल गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले प्रविधिलाई सुशासन र आर्थिक विकासको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउने सरकारको योजना पनि प्रस्तुत गरे । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई एकसाथ अघि बढाउँदै नवप्रवर्तन र नयाँ व्यवसायलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने उनले बताए । राष्ट्रिय डिजिटल पूर्वाधारलाई डिजिटल सुशासनको आधार बनाइने र युवाले सडकमा उठाएको सुशासनको मागलाई प्रविधिको प्रयोगबाट समेत सम्बोधन गरिने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपद् उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, विभिन्न सङ्घसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा नागरिकप्रति धन्यवाद व्यक्त गरे । नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै उनले विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा जोड दिनुपर्ने बताए। विपद्को पूर्व सूचना प्रणालीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रधानमन्त्री शाहले संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधानले परिकल्पना गरेको व्यवस्था व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान पुस्ताकै भएको बताए । नागरिकको घरदैलोमा पुग्ने सेवा, पारदर्शी नियुक्ति र इमानदार निर्णयमार्फत संविधानको मर्मलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो ।

उनले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको माग गरेको उल्लेख गर्दै सरकारका हरेक कदम ती आकाङ्क्षातर्फ केन्द्रित रहने बताए । संविधानप्रतिको निष्ठा र त्यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री शाहले ‘शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ’ भन्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री शाहले राजनीतिक परिवर्तन तथा सुशासनका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्