काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । खाना पकाउने एलपी ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरिरहेका बेला साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा आएका हुन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेका थिए ।
शपथ लिएलगत्तै मन्त्री साह सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले देखिएको ग्यास आपूर्तिको समस्यालाई प्राथमिकताका साथ लिएर सम्बन्धित पक्षसँग छलफल गर्ने बताएका छन् ।

मन्त्री साहले जनताको आवश्यकता पूरा हुने गरी ग्यास उपलब्ध गराउनु सरकारको दायित्व भएको स्पष्ट पारे । ‘ग्यासको विषयमा छलफल गर्छौँ। जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने ।
उनले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै तत्काल नयाँ निर्णय गर्नुभन्दा यसअघि भएका कामकारबाही र समस्याको वास्तविक अवस्थाबारे जानकारी लिएर अघि बढ्ने बताए । ‘विगतमा के-के भयो भन्ने विषयमा बुझेर अगाडि बढ्दा राम्रो होला जस्तो लाग्छ,’ मन्त्री साहले भने । उनले नेपाली जनताप्रति आफू नतमस्तक रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारी दिएकोमा पार्टी सभापति तथा प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरे । उनले ‘राष्ट्र पहिलो’ भन्ने भावनाका साथ मन्त्रालयको काम अघि बढाउने प्रतिबद्धता पनि जनाए ।
साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । प्राविधिक पृष्ठभूमिका साह मेकानिकल इन्जिनियर हुन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका छन् । जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लामो समय काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ ।

साह यसअघि जनमत पार्टीसँग आबद्ध भएका थिए । त्यसपछि आफ्नै नेतृत्वमा राजनीतिक दल गठन गर्ने तथा अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्ने क्रममा अघि बढेका साह पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर सुनसरी-४ बाट निर्वाचित भएका हुन् ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार नै पदबाट राजीनामा दिएपछि मन्त्रालयको नेतृत्व रिक्त भएको थियो । ग्यास आपूर्तिको विषयमा विवाद चर्किएपछि यादवको अभिव्यक्ति पनि आलोचनामा परेको थियो । ग्यास उद्योगीहरूप्रति कडा टिप्पणी गरेपछि विवाद बढेको अवस्थामा उनले राजीनामा दिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उक्त मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरेका हुन् ।



