सुनसरी । सुनसरीको इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार हालसम्म ११ जनाको उद्धार भएको हो ।
नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ । अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् । विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् । बुधवार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलाबाट आगलागी सुरु भएको थियो। अहिले पाँचौँ, छैटौँ र सातौँ तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ । नौ तलाको यो भवनमा होटेल बरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैङ्क, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् । होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको हो । आगलागीको कारण खुलिसकेको छैन ।