बेलबारी । मोरङको बेलबारीमा प्रथम लालभित्ती भेट्रान फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ । लालभित्ती भेट्रान फुटबल क्लब, बेलबारी-२ को आयोजनामा बेलबारी-२ स्थित बागदेवी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा उर्लाबारी धल्केजोबन भेट्रानले मिल्स भेट्रान विराटनगरलाई २-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा उर्लाबारीका तर्फबाट दुई गोल भएको थियो भने विराटनगरले एक गोल फर्काएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका उर्लाबारीका जर्सी नम्बर १० का राजिन सिवाकोटी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन किरात राई यायोक्खाका उपाध्यक्ष तिलक प्रसाद राईले गरेका थिए । उद्घाटन समारोहमा आयोजक क्लबका पदाधिकारी, खेलाडी, स्थानीय खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलि पूर्वेली भेट्रान धरान र राइजिङ भेट्रान इटहरिबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ र उपविजेता टोलीले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भीम राईले जानकारी दिए ।



