भोटेकोशीको बाढी करिब साढे ६ घण्टामा देवघाटसम्म


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान तिब्बततर्फबाट एकाएक प्रवेश गरेको विनाशकारी बाढीले केही घण्टामै भोटेकोशी, त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्मको भूगोल हल्लाइदियो । बाढीले बाटोमा भेटिएका बस्ती, पुल, सडक, जलविद्युत् आयोजना र अन्य संरचनामा ठुलो क्षति पुर्‍याउँदै करिब साढे ६ घण्टामा नारायणी नदीको देवघाटसम्मको यात्रा तय गरेको सरकारी प्राविधिक अध्ययनले देखाएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको “२०८३ भोटेकोशी-त्रिशूली-नारायणी बाढीसम्बन्धी प्राविधिक प्रतिवेदन” ले बाढीको उत्पत्ति, बहावको यात्रा, जलसतहमा आएको परिवर्तन र पूर्वसूचना प्रणालीको प्रभावबारे महत्त्वपूर्ण तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार भदौ १० गते बिहान ९:०५ बजे तिब्बततर्फबाट ठुलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो । त्यसपछि बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिएको थियो ।

यसअघि बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । त्यसको केही समयपछि भोटेकोशीको स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको प्रतिवेदनमा उल्लेख छ । उपलब्ध अन्तिम तथ्याङ्कअनुसार त्यस बेला नदीको जलसतह १.६२ मिटर थियो । यसको चेतावनी तह ६ मिटर र खतराको तह ९ मिटर तोकिएको थियो ।

बाढीको सूचना प्राप्त भएपछि भने विपद् व्यवस्थापनमा अर्को महत्त्वपूर्ण अध्याय सुरु भयो । बाढी पूर्वानुमान महाशाखाले बिहान ९:१५ बजेदेखि नै नदी तटीय क्षेत्र र जोखिममा रहेका बस्तीका नागरिकलाई पूर्वसूचना तथा सतर्कता सन्देश पठाउन थालेको थियो । सरकारी प्राविधिक प्रतिवेदनले यही पूर्वसूचना प्रभावकारी हुँदा धेरै नागरिकले समयमै सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सकेको निष्कर्ष निकालेको छ ।

बाढीको वेग भने असाधारण थियो। प्रतिवेदनअनुसार बिहान १०:२८ बजे बाढी धादिङको गल्छी आसपास पुगेको थियो । त्यसपछि ११:५० बजे मलेखु बजार आसपास पुगेको बाढी दिउँसो १ बजे मुग्लिन पार गर्दै ३:२० बजे नारायणी-देवघाट क्षेत्रमा पुगेको थियो । यसरी तिब्बततर्फबाट आएको बाढीको सूचना प्राप्त भएको समयदेखि देवघाटसम्मको यात्रा करिब साढे ६ घण्टामा पूरा भएको देखिन्छ ।

देवघाटस्थित जलमापन केन्द्रमा बाढीको जलसतह दिउँसो ४ बजे ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो । साँझ ६:३० बजेसम्म नदीको अवस्था सामान्यतर्फ फर्किँदै करिब ४ मिटरको तहमा आएको प्रतिवेदनमा उल्लेख छ ।

बाढीको प्रभाव कति तीव्र थियो भन्ने तथ्य चार वटा जलमापन केन्द्रको विनाशले पनि देखाउँछ । बाढीले रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु अर्थात् फुर्के क्षेत्रका जलमापन केन्द्रहरू नै बगाएको प्रतिवेदनमा उल्लेख छ । केन्द्रहरूमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा प्रत्यक्ष जलसतह तथा बहावको तथ्याङ्क सङ्कलनमा समेत कठिनाइ उत्पन्न भएको छ ।

प्राविधिक विश्लेषणले बाढीको परिमाणसमेत असाधारण रहेको देखाएको छ । प्रारम्भिक आँकलनअनुसार त्रिशूली-नारायणी नदी प्रणालीबाट सामान्य बहावको तुलनामा करिब एक करोड ९६ लाख ६५ हजार ६ सय घनमिटर अतिरिक्त पानी बगेको देखिएको छ । देवघाटबाट मात्रै करिब दुई करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आँकलन गरिएको छ ।

बाढीले भोटेकोशीदेखि त्रिशूली नदी तटीय क्षेत्रसम्म ठुलो भौतिक क्षति पुर्‍याएको छ । नुवाकोटको त्रिशूली बजार आसपास मात्रै करिब ६० घर बगाएको प्रारम्भिक विवरण आएको थियो । बाढीले त्रिशूली नदीमाथिका दुई वटा पक्की पुलमा क्षति पुर्‍याउनुका साथै त्रिशूली तथा देवीघाट जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको बताइएको छ ।

बाढीको मानवीय क्षति पनि अत्यन्त गम्भीर बनेको छ । नेपाल प्रहरीले बुधवार राति ११:०५ बजेसम्म विभिन्न जिल्लामा गरी १५७ जनाको शव फेला परेको जनाएको थियो । चितवन, धादिङ, नवलपरासी पूर्व, गोरखा, नुवाकोट, तनहुँ र रसुवामा शव फेला परेको विवरण सार्वजनिक भएको थियो । यद्यपि, खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको अन्तिम सङ्ख्या परिवर्तन हुन सक्ने अवस्था रहेको छ ।

बाढीको कारणबारे प्रारम्भिक अध्ययनले तिब्बततर्फ नदी थुनिएर बनेको ताल वा जलाशयबाट ठुलो मात्रामा पानी एकाएक बाहिरिएको घटनातर्फ संकेत गरेको छ । प्राविधिक प्रतिवेदनमा तिब्बततर्फको नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेको अवस्थामा समेत जोखिम कायम रहेको सूचना नेपालतर्फ प्रवाह गरिएको उल्लेख छ । त्यसैले यस घटनालाई सामान्य वर्षाजन्य बाढीभन्दा फरक प्रकृतिको आकस्मिक बाढीका रूपमा हेरिएको छ ।

यस घटनाले नेपालमा नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीको महत्वसमेत उजागर गरेको छ । बाढी आएको केही मिनेटमै सूचना प्रवाह गर्न सकिएको र जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएकाले ठुलो मानवीय क्षति थप बढ्नबाट रोक्न सहयोग पुगेको सरकारी प्रतिवेदनको निष्कर्ष छ । तर एकातर्फ पूर्व सूचनाले ज्यान जोगाएको देखिए पनि अर्कोतर्फ बाढीको तीव्रता र विनाशकारी क्षमताले विद्यमान पूर्वतयारी तथा सीमापार सूचना आदानप्रदान प्रणालीलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

भोटेकोशीको यो विपत्ति केवल एउटा नदी किनारको घटना बनेर सीमित रहेन । केही घण्टामै रसुवाबाट नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको बाढीले नदी प्रणालीसँग जोडिएका दर्जनौँ बस्ती र पूर्वाधारलाई जोखिममा पार्‍यो । त्यसैले अबको चुनौती उद्धारमा मात्र सीमित छैन, बेपत्ताको खोजी, विस्थापित परिवारको पुनः स्थापना, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, जलविद्युत् र अन्य संरचनाको पुनः स्थापना तथा भविष्यमा यस्ता आकस्मिक बाढीको जोखिम घटाउने दीर्घकालीन तयारी पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

सरकारी प्राविधिक प्रतिवेदनले भोटेकोशी-त्रिशूली-नारायणी नदी प्रणालीमा अझै निरन्तर निगरानी आवश्यक रहेको औँल्याएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्